लगातार ओरालो लागिरहेको नेप्से आज पनि ४१.७७ अंकले घटेर २,३४३.८७ विन्दुमा पुगेको छ। अघिल्लो दिन पनि सेयर बजार करिब ३० अंकले घटेको थियो। केही समयदेखि नेप्से परिसूचक २३०० आसपास विन्दुमा नै सीमित छ।
सोमबार कुल २ सय २९ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा जम्मा १९ वटाको मूल्य बढेको छ भने दुई सय वटाको घटेको छ। यी कम्पनीहरूको कुल ३८ लाख ७६ हजार ३०२ सेयर किनबेच हुँदा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ। यो भनेको अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरू मध्ये सबैको सूचक नकारात्मक देखिएको छ।
केही दिनदेखि मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएको नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थामा भने आज पनि सर्किट ब्रेक लागेको छ। कारोबारमा आएको १४ औं दिनमा समेत नेष्डोको बढेको छ। मूल्य थप बढ्ने अपेक्षासहित बजारमा नेष्डोको कारोबार भइरहेको हो।
यसपछि आज दिवेश्वरी हाइड्रोपावर लिमिटेडको सेयर भने ७.९८ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६.०९ प्रतिशतले बढेको छ। पछिल्लो दिनमा जाल्पाको बजार मूल्य पनि लगातार बढिरहेको छ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलप्ममेन्टको सेयर सबैभन्दा धेरैले घटेको छ।
कारोबार आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार हुनेमा नबिल बैंक परेको छ। आज नबिलको मात्रै करिब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसलाई हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, निफ्रा, सिद्धार्थ इन्स्योरेन्स लगायतले पछ्याएको छ।