नबिल बैंकले प्रवासी कामदारहरूको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ। बैंकले गत शुक्रबार उक्त कार्यशाला आयोजना गरेको हो। कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रूपमा कार्यपत्र प्रस्तुत गरे।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो, जसले विश्वभरका कामदार तथा उनीहरूको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरू कम गर्न काम गरिरहेको छ। जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको विकास तथा कार्यन्वयन गर्दैछ।
नबील बैंकले दिगो विकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ। उक्त कार्यशाला पनि समाजमा दिगो विकाशको लागि महत्वपूर्ण रहने विश्वास बैंकले राखेको छ।
कार्यक्रम नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो। बैंकद्वारा जारी विज्ञप्ति अनुसार कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कुटनितिक संघ संस्थाहरू लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरूका उच्च पदस्त अधिकारीहरूको सहभागिता थियो।
कार्यशालाको दौरान ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले बढ्दैै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराए। उनले बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो माहामारी हुन सक्ने समेत बताए।
त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण सुरू भएको नयाँ रोगहरूबाट प्रवासी कामदारहको स्वास्थ्यलाई जोगाउन सकिने बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहका अनुसार जलवायु परिवर्तनको प्रभाव सबै जिवीत जीवहरूमा उच्च मात्रामा देखिन थालेता पनि यसलाई कम गर्ने तर्फ सामान्य ध्यान केन्द्रीत गर्न सकिन्छ।
कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।