लगातार घटेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से १३. ३७ अंकले बढ्दा करिब एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१३. ३७ अंकले नेप्से बढेर आज २,३५७.२३ विन्दुमा पुगेको हो। नेप्से २३१४ सम्म पुगेर फर्किएको हो।
मंगलबार दिनभर २२९ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा कुल १४० वटाको मूल्य बढेको छ भने ६३ वटा घटेको छ। यी कम्पनीहरूको कुल ३२ लाख १२ हजार १९५ सेयर किनबेच भए। नेप्से बढेपनि सेयर किनबेचको संख्या भने अघिल्लो तुलनामा कम हो।
आज कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये सबै सकारात्मक देखिएका छन्। सबैभन्दा धेरै 'अन्य'को १.०९ प्रतिशत र होटल एन्ड टुरिजमको १.०४ प्रतिशतले परिसूचक बढेको छ।
केही दिनदेखि मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएको नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थामा मंगलबार पनि सर्किट ब्रेक लागेको छ। यसको मूल्य थप बढ्ने अपेक्षासहित बजारमा सेयर किनबेच भइरहेको छ।
आजैबाट कारोबार सुरू भएको ग्रीन भेन्चर्सको मूल्य पनि बढेर सर्किट ब्रेक लागेको छ। २७१ रुपैयाँबाट पहिलो कारोबार भएको कम्पनीको मूल्य बढेर २९६ रुपैयाँसम्म पुगेको छ। मूल्य बढाउन लगानीकर्ताहरूले १० कित्ताभन्दा कम सेयर पटक-पटक कारोबार भएको छ। पहिलो कारोबारको लागि अधिकतम २७५ रुपैयाँको रेन्ज पाएको कम्पनीको मूल्य त्योभन्दा पनि माथि पुगेको हो। लगानीकर्तालाई प्राथमिक सेयरमा लगानी गरेको एक महिनामै तीन गुणाले नाफा भएको छ।
मंगलबार दिवेश्वरी हाइड्रोपावर लिमिटेडको सेयर सबैभन्दा धेरैले घटेको छ। सोमबार भने यसको सेयर ७.९८ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासमा २० करोड रुपैयाँ नोक्सान र सोही दरमा सञ्चित नोक्सान रहेको कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनु अगाडि मूल्य घटेको छ।
कारोबार आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार हुनेमा नबिल बैंक परेको छ। आज नबिलको मात्रै ६ करोडभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिन पनि नबिल बैंकको करिब ५ करोडभन्दा बढी रुपैयाँको कारोबारसँगै सबैभन्दा धेरै रकमको कारोबार भएको थियो।
मंगलबार सबैभन्दा धेरै रकमको कारोबार हुनेमध्ये नबिल बैंकलाई हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अरुण भ्याली हाइड्रो, अपि पावर लगायतले पछ्याएको छ।