कोरोनाको प्रभावपछि प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा राष्ट्र बैंकले थप कटौती गर्ने भएको छ।
राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा राष्ट्र बैंकले बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो। कोषमा भएको भन्दा बढी रकम दिँदा नोट छापेरै वा छापेर पनि चलनचल्तीमा आइनसकेको मुद्रा प्रणालीमा पठाइएको हो।
केही समयअघि पनि राष्ट्र बैंकले यस्तो पुनर्कर्जा सुविधा खुम्च्याएको थियो।
'कोषमा भएको रकम बराबरसम्म मात्रै यस्तो कर्जा सुविधा दिने सोचमा छौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सेतोपाटीसँग भने।
हाल पुनर्कर्जा कोषमा करिब ५१ अर्ब रूपैयाँ छ।
यो आर्थिक वर्ष फागुन अन्त्यसम्म भने राष्ट्र बैंकले एक खर्ब ६ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ। हाल यस्तो कर्जा अन्तर्गत प्रवाह भएको एक खर्ब २० अर्ब रूपैयाँ लगानीमै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
राष्ट्र बैंकले केही समयअघि मात्रै पुनर्कर्जाको ब्याजदर पनि वृद्धि गरेको छ। यसअघि लघु, घरेलु तथा साना उद्यममा जाने कर्जा र साधारण पुनर्कर्जामा बैंकहरूले ग्राहकसँग ५ प्रतिशतसम्म ब्याजदर लिन पाउँथे। हाल यसलाई बढाएर ७ प्रतिशत पुर्याइएको छ। राष्ट्र बैंकले भने बैंकहरूसँग यस्तो रकममा ५ प्रतिशतसम्म ब्याज लिन्छ। ब्याजदर बढाउनुअघि भने राष्ट्र बैंकले बैंकहरूसँग अधिकतम ३ प्रतिशत ब्याज लिँदै आएको थियो।
कोभिड प्रभावमा परेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यले नोट छापेरै भए पनि पुनर्कर्जा सुविधा दिइएको थियो। यसले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी समेत उल्लेख्य दरमा बढ्न गएको छ। चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको वार्षिक वृद्धिदर १९ प्रतिशतमा राख्ने राष्ट्र बैंकको लक्ष्य भए पनि गत फागुनसम्ममा यो क्षेत्रमा जाने कर्जाको वृद्धिदर २२.२ प्रतिशत रह्यो।
बैंकहरूले प्रवाह गर्ने कर्जाको ५० प्रतिशत बराबर रकम आयातमा जाने गरेको र यही कारण आयातमा उच्च वृद्धि भएकाले मुलुकको भुक्तानी सन्तुलन (आम्दानी र खर्चबीचको सन्तुलन) उच्च दरमा ऋणात्मक भइरहेको छ। आयातमा भइरहेको वृद्धिले पनि मुलुकको विदेशी मुद्रा सञ्चिति घटिरहेको छ।
'अस्वस्थ हुने अवस्थामा रहेको अर्थतन्त्र चलाउन पुनर्कर्जा रकममा गुणात्मक वृद्धि गरिएको थियो,' मिश्रले भने, 'तर औषधि पनि धेरै भएमा हानी हुन्छ, त्यसैले यसलाई कटौती गर्ने छौं।'
कोभिडअघि भने राष्ट्र बैंकले कोषमा भएको रकमसम्म मात्रै पुनर्कर्जाका रूपमा बैंकहरूलाई लगानी गर्न दिँदै आएको थियो। चरम कर्जायोग्य पुँजी अभावबाट गुज्रिरहेका बैंकहरूलाई पुनर्कर्जाबाट प्राप्त रकमले पनि भरथेग गरिरहेको छ।
बैंकहरूले स्रोत अभाव भएपछि राष्ट्र बैंकबाट अन्य सापटी लिएर समेत कर्जा लगानी गर्दै आएका छन्। बैंकहरूले मंगलबार मात्रै सात दिने अवधिको ६२ अर्ब ८३ करोड रूपैयाँ स्थायी तरलता सुविधा (ऋणपत्र लगायतको धितोमा लिने सापटी) लिएका छन्।
यसरी लिएको सापटी प्रत्यक्ष रूपमा कर्जा लगानीमा प्रयोग गर्न नपाइने भए पनि तरलता अनुपात कायम राख्न सहयोग पुग्छ। बैंकहरूले निक्षेप, मूल (कोर) पुँजी लगायतका आधारमा २० प्रतिशत यस्तो अनुपात कायम गर्नुपर्छ।