बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २,३२०.५१ को विन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से १३.३७ बढेर २,३५७.२३ विन्दुमा पुगेको थियो।
नेप्से अझै पनि २४०० मनोवैज्ञानिक बिन्दुमा टेवा परीक्षण गरिरहेको छ। नेप्से यसअघि पनि पटक-पटक यही बिन्दुबाट फर्किने गरेको छ।
बुधबार २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा जम्मा १९ वटाको मूल्य बढेको छ भने १९८ वटाको मूल्य घटेको छ। यी कम्पनीहरूको कुल ३५ लाख ७० हजार १४ सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। नेप्से ओरालो लागेपनि मंगलबार बजार बढेको दिनको तुलनामा आज सेयर किनबेच बढेको छ। मंगलबार कुल २२९ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३२ लाख १२ हजार ११५ सेयर किनबेच भएको थियो।
पन्ध्र दिन अगाडि कारोबारमा आएको नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको १० दिन यता मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएकोमा बुधबार घटेको छ। कम्पनीको मूल्य तीन हजार ३१२ रुपैयाँसम्म पुगेर ब्रेक लागेको हो। यसलाई हिमालयन उर्जा विकास कम्पनीले पछ्याएको छ। बुधबार नेष्डोको सेयर १० प्रतिशतले घटेको हो भने हिमालयन उर्जाको ६.२९ प्रतिशतले घटेको हो।
आज सबैभन्दा धेरै कमाउने कम्पनीमध्ये जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। पछिल्लो दिनमा यसको बजार मूल्य लगातार बढिरहेको छ। आज भने ९.९९ प्रतिशतले नै बढेको हो। ९.९९ प्रतिशतले सेयर बढ्नेमा ग्रीन भेन्चर्सको मूल्य पनि पर्छ। यसको कारोबार अघिल्लो दिनबाट मात्रै सुरू भएको हो।
नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरैले सेयर घटेको भएपनि आज यसको कारोबार आधारमा धेरै रकमको कारोबार भएको छ। कम्पनीको कारोबारको अन्तिम मूल्य दुई हजार ७१० रुपैयाँ ३० पैसा रहेको थियो भने कुल १४ करोड १९ लाख ४७९ रुपैयाँको सेयर कारोबार भएको छ।
बुधबार सबैभन्दा धेरै रकमको कारोबार हुनेमध्ये यसपछि एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, अरुण भ्याली हाइड्रो, नबिल बैंक, हिमालयन डिस्टिलरी कम्पनी लगायत परेको छ।