वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी (निक्षेपको ब्याज लागत कटाएर बच्ने कर्जाको ब्याज आम्दानी) १३ अर्ब रूपैयाँ बढेको छ। ब्याज आम्दानी बढे पनि उनीहरूको नाफामा केही परिवर्तन आएको छैन।
सञ्चालनमा रहेका सबै २७ वाणिज्य बैंकले बुधबार प्रकाशन गरेको तेस्रो त्रैमासिक तथ्यांकअनुसार उनीहरूको कुल नाफा ०.५८ प्रतिशत मात्रै बढेको हो।
गत आर्थिक वर्षको चैतसम्ममा ५० अर्ब ५९ करोड रूपैयाँ नाफा कमाएका बैंकहरूले चालु आर्थिक वर्षको यही अवधिमा ५० अर्ब ८९ करोड रूपैयाँ कमाएका हुन्।
बैंकहरूले ग्राहकहरूमा (बैंक तथा वित्तीय संस्थाबाहेक) जारी कर्जा लगानी भने करिब १२ प्रतिशतले बढेर ३९ खर्ब ९३ करोड रूपैयाँ छ।
त्यस्तै ग्राहकहरूबाट संकलन गरिएको निक्षेप ५.५७ प्रतिशत बढेर ४३ खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूको खुद ब्याज आम्दानी भने करिब १५ प्रतिशत बढेर एक खर्ब १० अर्ब रूपैयाँ पुगेको छ।
बैंकहरूको कुल कर्जामा खराब कर्जाको औसत घटेर १.२६ प्रतिशतमा सीमित भएको छ। गत आर्थिक वर्षमा भने यो १.३६ प्रतिशत थियो। बैंकहरूले यसपटक कर्जा जोखिमवापत सात अर्ब ७७ करोड रूपैयाँ प्रावधान छन्।
आठ वटा वाणिज्य बैंकले भने दुई अर्ब ११ करोड रूपैयाँ राइट ब्याक (प्रावधान फिर्ता) गरेका छन्।
बैंकहरूले लगानीकर्ताहरूलाई २७ अर्ब रूपैयाँ प्रतिफल दिन सक्ने भएका छन्। यो बैंकहरूको वितरणयोग्य नाफा हो। बैंकहरूले चुक्ता पुँजीको आधारमा करिब ८ प्रतिशत मात्रै प्रतिफल वितरण गर्न सक्ने भएका हुन्।
बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ६२ अर्ब पुगेको छ।
एभरेष्ट बैंकले वितरण गर्न सक्ने रकम सबभन्दा धेरै छ। यस बैंकले चुक्ता पुँजीको आधारमा सबभन्दा धेरै करिब ३० प्रतिशत प्रतिफल वितरण गर्न सक्ने देखिएको हो। यस बैंकको चुक्ता पुँजी नौ अर्ब ४६ करोड र वितरणयोग्य नाफा दुई अर्ब ७९ करोड छ।
बैंकहरूले चैत मसान्तमा उठाउन पर्नेमध्ये १५ अर्ब ७९ करोड रूपैयाँ उठाउन सकेका छैनन्। यद्यपि यो नियमित प्रक्रिया हो।
यसरी नउठेको ब्याजबराबर हुने रकमको ६३ प्रतिशत नियामकीय सञ्चितिमा राख्नुपर्ने हुन्छ। बैंकहरूले यसरी नौ अर्ब ९५ करोड रूपैयाँ नियामकीय सञ्चितिमा राखेका छन्।
प्राइम कमर्सियल बैंक र नेपाल बैंकले सबभन्दा धेरै रकम नियामकीय व्यवस्थामा राखेका छन्। यी बैंकले क्रमशः ७४ करोड र ७२ करोड रूपैयाँ यस्तो सञ्चितिमा राखेका हुन्।