सेयर बजार केही महिनादेखि लगातारजस्तो ओरालो लागिरहेको छ। हालसम्मको उच्च विन्दुबाट बजार ओर्लिने क्रममा लगानीकर्ताहरूको सम्पत्तिमा करिब ८ खर्ब रूपैयाँले ह्रास आइसकेको छ।
हुन त बजार बढ्न अन्य आधारभूत पक्षहरू सकारात्मक बनेका छैनन्। तर यसले बजारलाई सपोर्ट नगरे पनि बजार निकै तल ओर्लिएकाले लगानीकर्ताहरूको मनोविज्ञान उकास्न पर्ने अवस्था पनि नजिकिन थालेको छ।
बजारको आर्थिक वर्षको प्रवृत्ति, लगानीकर्ताहरूको मनोविज्ञान लगायतका विषयमा केही लगानीकर्ताहरूसँग हामीले कुराकानी गरेका छौं। लगानीकर्ताहरूको भनाइ जस्ताको त्यस्तैः
२२ सयको विन्दुसम्म आउन सक्छ बजार
राजन तिवारी, लगानीकर्ता
यसअघि बजार अप्राकृतिक रूपमा ३ हजार २ सयसम्मको विन्दुमा पुगेको हो भन्ने मलाई लाग्छ। विशेषगरी, कोभिडको समयमा लगानीकर्ताहरूसँग पुँजी समस्या थिएन र धेरै बजारमा प्रवेश गरे। पुँजीको उपलब्धताले बजार बढ्छ। बजार बढ्दै गर्दा थप कमाइ हुन्छ भन्ने सोचमा लगानीकर्ताहरूले लगानी बढाउँदै लगे।
तर अवस्था सामान्य भएसँगै धेरैजसो लगानीकर्ताहरू आफ्नै व्यवसायमा फर्कन थाले। यसले गर्दा बजारमा प्रवाह भइरहेको पुँजी पनि घट्दै गयो।
कोभिड समय बजारमा अस्थायी र छोटो समयका अवधिका लागि लगानीकर्ताहरू भित्रिए। अहिले अवस्था सामान्य भएसँगै उनीहरू प्रायः आफ्नै व्यवसायमा फर्किँदै छन्। त्यसैले पनि बजारमा स्थिरता कायम हुन नसकेको हो। दीर्घकालीन लगानीकर्ताहरू र जो विवेकसम्मत तरिकाले लगानी गर्छन्, उनीहरूका लागि बजार अझै पनि सामान्य नै हो।
अहिले बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको कर्जा लगानीयोग्य पुँजीको अभावले पनि बजारलाई समस्यामा पारेको छ। बैंकहरूले नजिकको सम्बन्धका आधारमा ठूला लगानीकर्ताहरूलाई बढी ब्याजदरमा ऋण दिइरहेका छन्। तर नयाँ लगानीकर्ताहरूले भने सेयर ऋण पाउन सकेका छैनन्।
मेरो प्रक्षेपणमा चुनावअघिसम्म बजार थप घट्न सक्छ। २ हजार २ सयको विन्दुको आसापाससम्म बजार आउन सक्छ। तर चुनावपछि असार/साउनताका बजारले गति समात्न सक्ने देखिन्छ। सो समयमा बैंकिङ प्रणालीमा पुँजी आउन थाल्छ।
नयाँ लगानीकर्ताहरू बजारमा स्थापित हुन सकेनन्
शहदेव रायमाझी, लगानीकर्ता
बजार अहिले न्यूनतम विन्दुमा आउनुमा राज्य, ठूला लगानीकर्ताहरू पनि जिम्मेवार छन्। बजारलाई आफ्नै लयमा छोड्नुपर्नेमा यी पक्षहरूले सधैं आफूअनुकूल डोर्याउने प्रयत्न गरिरहे।
पछिल्लो समय बजारमा भित्रिएका नयाँ पुस्ताहरू समेत भित्री कारोबारमा लागे। भित्री कारोबारमा लाग्नेहरूले मात्रै बजारमा भित्री सूचनाहरूमा पहुँच पुर्याउने गरेका छन्। यसले पनि बजारलाई नकारात्मक बनाउन सहयोग गर्यो। सीमितले मात्र बजारबाट कमाउने अवस्था बनेपछि पनि समस्या आएको हो।
कतिपय ब्रोकर कम्पनीहरूको कारण पनि बजार घटेको छ। ब्रोकरहरू अप्रत्यक्ष रूपमा आफैं कारोबारमा लागेकाले पनि यो अवस्था आएको हो। उनीहरूले समेत ठूला लगानीकर्ताहरूसँग मिलेर बजार प्रभावित गरिरहेका छन्। अहिले बजारका ठूला खेलाडी ब्रोकरहरू पनि हुन्।
कोभिडपछि बजारमा धेरै नयाँ लगानीकर्ता भित्रिए। तर यी साना तथा नयाँ लगानीकर्ताहरूले बजार कसरी चल्छ भन्ने बुझेनन्। बजारका आधारभूत कुराहरू नबुझ्ने तर सामाजिक सञ्जालमा आएका हचुवा पोष्टहरूलाई अनुशरण गर्ने गरिरहे। यसैले पनि नयाँ लगानीकर्ताहरू बजारमा स्थापित हुन सकेनन्।
सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकले समेत सेयर बजारले अर्थतन्त्रलाई टेवा पुर्याइरहेको कुरालाई आत्मसात गर्न सकिरहेका छैनन्। तर अब बजार धेरै घट्ने सम्भावना छैन। नेप्से २ हजार १ सय ५० सम्म नै गयो भने पनि फेरि बढेर २ हजार ७ सय आसपाससम्म पुग्नेछ।
पहिल्यैदेखिको ट्रेन्ड अनुसार चैत–वैशाखमा करेक्सन सकिने गर्दै आएको छ। अब बिस्तारै बजार बढ्न सक्छ। लगानीकर्ताहरूले राम्रो लाभांश दिने कम्पनीहरूको सेयर किनेर राख्दा दीर्घकालीन समयलाई राम्रो हुन्छ।
अहिले सर्वसाधारणले कारोबार गर्न प्रयोग गर्ने टिएमएस (कारोबार व्यवस्थापन प्रणाली) राम्रोसँग खुलिरहेको छैन। ब्रोकरहरूले नै यसबाट बढि लाभ लिइरहेका छन्।
पुँजी बजारलाई नियन्त्रण गरिएको छ
छोटेलाल रौनियार, नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष
अहिले बजारमा तरलता अभावका कारण जन मनोविज्ञान कमजोर भएको छ। त्यसैले सेयर बजार घटेको हो। तरलता अभाव समस्या कम भएसँगै बजार बढ्छ। सम्भवतः एक–डेढ महिनापछि बजार बढ्न सुरू हुन्छ।
सेयर बजार करिब २८ प्रतिशतले घटेको छ। सेयर मूल्यमा आएको गिरावटको कारण लगानीकर्ताहरूको सम्पत्ति ४० देखि ५० प्रतिशतले घटिसकेको छ। यसले गर्दा हरेक किसिमका लगानीकर्ताहरूको मनोबल कमजोर हुँदै गएको छ।
बजार घट्नुको अर्को कारण पुँजी नहुनु पनि हो। अहिले लगानीकर्ताहरूसँग पर्याप्त मात्रामा पुँजी छैन। बैंकहरूले पनि कर्जा दिन सक्ने अवस्थामा छैन। बैंकको कर्जा ब्याजदर पनि बढेको छ। यसबाहेक रेमिट्यान्स पनि घटेको छ। रेमिट्यान्स बढाउन सके र आयात नियन्त्रण गर्न सके बजारको गति चलायमान हुन्छ।
चुनावअघि नै बजारलाई सकारात्मक विन्दुतर्फ लग्न सरोकारवालाले ध्यान दिनुपर्ने हुन्छ। किनभने बजार कमजोर हुँदा र नकारात्मक हुँदा चुनावलाई नै पनि असर पर्छ।
सेयर बजारले अर्थतन्त्रलाई टेवा पुर्याउँछ भन्ने ढंगबाट सरकारले हेर्नु जरूरी छ र यसको गति कायम राख्न स्वतन्त्र छोड्नुपर्ने हुन्छ। नेपालमा त पुँजी बजारलाई नियन्त्रण गरिएको छ। यस्तो संसारमा कहीँ हुँदैन, नेपालमै हो। त्यसैले पनि बजारको अवस्था के हुन्छ भन्ने टुंगो लगाउनै समस्या छ। बजार भनेको माग र आपूर्तिमा आधारित हुनुपर्छ।
अर्को भनेको बजारमा नकारात्मक कुराहरू फैलिएको छ। नेपालको अर्थतन्त्र श्रीलंकाको स्थितिमा पुग्छ भन्ने हल्ला गरिएको छ। श्रीलंकासँग हामीले दाँज्नै मिल्दैन। त्यसैलै नकारात्मक हल्लाहरूले पनि सेयर बजारमा असर गर्छ। तर दीर्घकालीन रूपमा सेयर बजार बढ्छ।
धितोपत्र बोर्डले खराब भन्दै कम्पनीहरूको सूची निकालेसँगै लगानीकर्ताहरूको मनोविज्ञान खलबलियो। सो सूची निकाल्नुअघिसम्म बजार वृद्धिको दिशामै थियो। राष्ट्र बैंकले पनि बजारलाई सकारात्मक रूपमा हेरेको पाइँदैन।
पछिल्लो समय बैंकहरूलाई कर्जा निक्षेप अनुपात लगाइएपछि पनि बैंकहरूको कर्जा लगानी क्षमता घटेको छ। बैंकको ब्याजदर बढेको छ। राष्ट्र बैंकले लघुवित्तको लाभांशमा कडाइ गरेको छ। लगानीकर्ताहरूले बैंकबाट लिन सक्ने कर्जामा पनि सीमा लगाइएको छ। यसले पनि बजार बढ्न नसकेको हो।