सामान्यतया सेयर बजारमा लघुवित्त कम्पनी सूचीकरण हुने बित्तिकै अड्कल काटिन्छ कि यी कम्पनीको मूल्य ढिलो-चाँडो हजार रुपैयाँ माथि पुग्छन्।
कम चुक्ता-पुँजी भएका यस्ता कम्पनीको सेयर थोरै हुने कारणले पनि मूल्यलाई लगानीकर्ताहरूले माथिल्लो सिमामा राखिराख्न सक्छन्। यसबाहेक यी संस्थाहरूले तुलनात्मक रूपमा अन्य क्षेत्रको कम्पनीहरूको भन्दा बढी लाभांस दिँदै आइरहेका छन्।
तर अहिले करिब १५ वटा लघुवित्तको सेयर मूल्य एक हजार रुपैयाँभन्दा कममा कारोबार भइरहेका छन्। तीमध्ये सबैभन्दा सस्तो मूल्यमा आँधिखोला लघुवित्तको सेयर कारोबार भइरहेको छ। यसको मूल्य प्रतिकित्ता चार सय ६५ रुपैयाँ छ।
लघुवित्तहरूमा महिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै छ। कम्पनीको तीन हजार पाँच सय १५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भइरहेको छ।
आँधिखोला लघुवित्त पछि सबैभन्दा सस्तोमा आरएसडिसी लघुवित्त (प्रतिकित्ता ६१६ रुपैयाँ), फर्स्ट माइक्रोफाइनान्स लघुवित्त (प्रतिकित्ता ७१०) र घोडीघोडा लघुवित्तको प्रतिकित्ता ८३० रुपैयाँमा पाइन्छ।
यी हुन् अन्तिम कारोबार मूल्य आधारमा एक हजार रुपैयाँभन्दा कममा प्रतिकित्ता सेयर पाइने लघुवित्तहरूः
क्र. म.
|
कम्पनीको नाम
|
अन्तिम कारोबार मूल्य
|
१
|
आँधिखोला लघुवित्त वित्तिय संस्था
|
४६५
|
२
|
आरएसडिसी लघुवित्त वित्तिय संस्था
|
६१६
|
३
|
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था
|
७१०
|
४
|
घोडीघोडा लघुवित्त वित्तिय संस्था
|
८३०
|
५
|
ग्रामीण लघुवित्त वित्तिय संस्था
|
८४५.१
|
६
|
सिभिल लघुवित्त वित्तिय संस्था
|
८५६.५
|
७
|
एनएमबी लघुवित्त वित्तिय संस्था
|
८६०
|
८
|
स्वरोजगार लघुवित्त वित्तिय संस्था
|
९२२.२
|
९
|
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था
|
९३२
|
१०
|
आरएमडिसी लघुवित्त वित्तिय संस्था
|
९६२
|
११
|
मेरो माइक्रोफाइन्यान्स लघुवित्त वित्तिय संस्था
|
९६७
|
१२
|
समता घरेलु लघुवित्त वित्तिय संस्था
|
९६८.३
|
१३
|
नयाँ सारथी लघुवित्त वित्तिय संस्था
|
९७७
|
१४
|
एनआइसी एशिया लघुवित्त वित्तिय संस्था
|
९८४
|
१५
|
नेरुडे लघुवित्त वित्तिय संस्था
|
९८५
|
'अहिले माइक्रोफाइनान्समा लगानी गर्न उचित समय पनि छ। मूल्यसँगै कम्पनीको पृष्ठभूमी हेरेर र यसले दिएको लाभांस, बोनस, मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी लगायतका विषयलाई ध्यानमा राख्दै लगानी गर्दा उचित हुन्छ,' लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, 'बजार घटिरहेको बेला कतिपय राम्रा लघुवित्तको मूल्य पनि घटिरहेको छ।'
बैंकको तुलनामा लघुवित्तहरूको आम्दानी र जगेडा तथा सञ्चित पनि बढी हुनाले कम्पनीले बढी लाभांस दिने गरेको उनको भनाइ छ। त्यस्तै, लघुवित्तको खराब कर्जा अनुपात समेत कम हुन्छन्।
सेवाको हिसाबमा लघुवित्तले ग्रामीण भेगमा वित्त सेवा पुर्याइरहेको छ। जसले गर्दा ग्रामीण भेगमा समेत वित्त सेवाको पहुँच पुगेको छ भने मानिसहरूलाई दैनिकीमा सहजता मिलेको छ। बैंकको तुलनामा लघुवित्तहरूले ब्याजदर भने बढी लिने गर्छन्।
कुनै समय लघुवित्त कम्पनीहरूले वार्षिक शतप्रतिशत भन्दा बढी लाभांस घोषणा गर्दै आएका थिए। विपन्न वर्गमा लगानी गर्ने यस्ता संस्थाले ऋणीबाट चर्को ब्याज लिने तर सेयर लगानीकर्ताहरूलाई भने उच्च प्रतिफल दिने गर्न थालेपछि राष्ट्र बैंकले केही कडाइ गरेको थियो।
अहिले कम्पनीहरूले २० प्रतिशतभन्दा माथि लाभांस घोषणा गरेमा सो सिमाभन्दा माथिको लाभांस बापत हुने रकमको ५० प्रतिशत ग्राहक संरक्षण कोषमा छुट्याउनु पर्छ। त्यस्तै, ऋणीलाई कजा दिँदा पनि अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन्। यसले गर्दा लघुवित्तहरूको लाभांस क्षमता घट्दो छ। यसले पनि लघुवित्तको मूल्य एक हजार माथि नै हुनुपर्छ भन्ने लगानीकर्ताहरूको मान्यतालाई चुनौति दिइरहेको छ।
तर अहिले पनि समग्रमा सूचीकृत संस्थाहरूमा लघुवित्तको लाभांस दर उच्च नै छ। त्यही कारणले पनि यस्ता कम्पनीको मूल्यमा ठूलो गिरावट आएको पाइदैन। आव २०७७/०७८ मा लाभांस घोषणा गरेका ४६ वटा लघुवित्तमा १० वटाले ३० देखि करिब ७४ प्रतिशतसम्म लाभांस दिएका छन्।
जीवन विकास लघुवित्त लिमिटेड संस्थाले यस वर्ष ७३.६८ प्रतिशत लाभांस घोषणा गरेको छ। त्यस्तै, महिला लघुवित्तले ५० प्रतिशत, नेसनल माइक्रोफाइनान्सले ४५ प्रतिशत, फर्वाड माइक्रोफाइनान्सले ४२ प्रतिशत, स्वाभिमान लघुवित्तले ३४ प्रतिशत र सबैको लघुवित्तले ३२.६८ लाभांस सेयर घोषणा गरेको छ।
त्यस्तै, १५ प्रतिशतभन्दा कम लाभांस दिने लघुवित्तको संख्या पाँचवटा मात्रै छ। त्यसमध्ये पनि सबैभन्दा कम एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले जम्मा ५.४१ प्रतिशत लाभांस घोषणा गरेको हो।