नेपालमा धेरै प्रतिक्षापछि पहिलो पटक सेयर (आइपिओ) निस्कासन गर्नुअघि संस्थागत लगानीकर्ताहरूको सहभागितामा मूल्य निर्धारण गर्ने प्रक्रियाको अभ्यास औपचारिक रूपमा सुरू भएको छ। यसलाई बुक बिल्डिङ भनिन्छ।
सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डसँग यसका लागि सम्झौता गरेसँगै पहिलो चरणको काम सकिएको हो।
हाल सेयर बजारमा क्षेत्रगत विविधीकरण भइरहेको छैन। यस्तो अवस्थामा बुक बिल्डिङको अभ्यास हुँदा विशेषगरी यसले बजारमा उत्पादनमूलक क्षेत्रको सहभागिता बढाउने अपेक्षा गरिएको छ। यो सकारात्मक पक्ष हो।
हामीकहाँ करिब हजारभन्दा माथिको संख्यामा रहेका कम्पनीहरू पब्लिक लिमिटेडका रूपमा दर्ता भएका छन्। तर सेयर बजारमा गत चैत अन्तसम्म २ सय २९ कम्पनी मात्रै सूचीकृत छन्।
पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाले गर्दा केही कम्पनीहरू सर्वसाधारणमा सेयर जारी गर्ने उद्देश्यले नै पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण तथा दर्ता भइरहेका छन्। आर्थिक वर्ष ०७६/०७७ देखि हालसम्म ५२ वटा कम्पनीले स्वामित्व परिवर्तन गरेर पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेका छन्। चालु आर्थिक वर्षमा मात्रै १६ वटा कम्पनी यसरी रूपान्तरण भए।
निश्चय नै, बुक बिल्डिङ विधिले कम्पनीहरूलाई सर्वसाधारणमा सेयर जारी गर्न प्रोत्साहन गर्छ। अहिले कम्पनीहरूले पहिलो पटक सेयर जारी गर्दा अंकित मूल्य वा प्रिमियम मूल्यमा गर्न सक्छन्। अंकित मूल्यमा सेयर जारी गर्दा बिक्रीकर्ताले प्रतिकित्ता एक सय रूपैयाँमा सेयर बिक्री गर्नुपर्छ।
प्रिमियम मूल्यमा सेयर जारी गर्दा भने पछिल्लो तीन वर्षको पुँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यासफ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरेर औसत मूल्य निकालिन्छ। यसरी निकालिएको औसत मूल्य जति भए पनि कम्पनीले पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरणअनुसार प्रति सेयर कुल सम्पत्तिको दुई गुणाभन्दा बढी मूल्यमा जारी गर्न पाउँदैन।
प्रिमियमभन्दा कसरी फरक छ बुक बिल्डिङ?
बुक बिल्डिङ प्रक्रियामा प्रिमियममा जस्तो सीमा हुँदैन। यसमा कुल सम्पत्तिको दुई गुणाभन्दा धेरै मूल्यमा पनि सेयर बिक्री गर्न सकिने अवस्था बन्छ।
धितोपत्र बोर्डमा बुक बिल्डिङ प्रक्रियाकै लागि भनेर दर्ता भएका योग्य संस्थागत लगानीकर्ताहरूसँग सेयर जारी गर्ने कम्पनीले चाहेको न्यूनतम संख्या, आशय मूल्य, मूल्यांकन विधि माग गर्छ। यिनलाई छुट्याइएको पूरै सेयर बिक्री हुने गरी कम्तीमा दस योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय लिए पुग्छ। यही आधारमा उनीहरूबाट प्राप्त मूल्यअनुसार संस्थाले आधार मूल्य तय गर्छ। सो आधार मूल्यको कम्तीमा २० प्रतिशतले घटबढ हुने गरी यस्ता योग्य लगानीकर्ताहरूलाई छुट्याइएको सेयर बिक्री गर्न पाउँछन्।
पछि बोलकबोल गरेर यस्ता संस्थालाई सेयर बिक्री गरिन्छ। बोलकबोल गर्दा संस्थाहरूले तोकेको मूल्य अनुसार कम्पनीले यिनलाई छुट्याइएको सेयर सबभन्दा बढी मूल्य हाल्नेबाट बाँड्न सुरू गरिन्छ। यसरी बाँड्दै जाँदा जुन मूल्यमा पुग्दा छुट्याइएको सेयर सकिन्छ, त्यही मूल्यलाई अन्तिम मूल्य (कट अफ प्राइस) मानिन्छ।
महँगोमा सेयर मागेका योग्य संस्थागत लगानीकर्ताले पनि अन्तिम मूल्यमा सेयर पाउँछन् भने सो मूल्यभन्दा कमको बोली लगाएकाहरूको हात रित्तै हुन्छ।
यसरी तय भएको अन्तिम मूल्यभन्दा दस प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउँछ। उदाहरणका लागि, अन्तिम मूल्य ८ सय रूपैयाँ भएमा कम्पनीको आइपिओ मूल्य ७२० रूपैयाँ कायम हुनेछ।
यसरी हेर्दा यो प्रक्रिया भनेको ठूला लगानीकर्ताले निर्धारण गरेको मूल्य सानालाई लागू हुने व्यवस्था हो। झट्ट सुन्दा यो व्यवस्था गलत लाग्न सक्छ। तर यसलाई गलत भन्न सकिँदैन। व्यवस्थित नगरिने हो भने चाहिँ गलत हुने सम्भावना रहन्छ।
बुक बिल्डिङ प्रक्रिया कसरी सुधार्ने?
हाल धितोपत्र बोर्डले ९३ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा छनोट गरेको छ। यसमा एउटै समूहबाट खोलिएका एकभन्दा बढी संस्था पनि छन्। यसकारण बुक बिल्डिङमा मिलेमतो हुने सम्भावना रहन्छ। मिलेमतोको उदाहरण अन्य मुलुकमा पनि देखिएको छ।
सन् २०१० मा बंगलादेशको सेयर बजार क्र्यास भएपछि त्यसको चार वर्षसम्म बुक बिल्डिङ प्रक्रिया नै स्थगित गरिएको थियो। बुक बिल्डिङ प्रक्रियामा धाँधली भएकै कारण बजार उच्च दरमा बढेको र अन्ततः वृद्धि कायम राख्न नसकेर क्र्यास भएको मान्यताका आधारमा यसलाई रोक्का गरिएको थियो। कम्पनीहरूको मूल्य निर्धारण प्रक्रिया प्रभावित हुने गरेको भन्दै बन्द गरिएको यो प्रक्रिया सन् २०१४ मा थप केही नियमहरूसहित खुला गरिएको थियो।
नेपालमा बुक बिल्डिङ सम्बन्धमा नियमावली जारी छ। तै पनि यसले मूल्य निर्धारण प्रक्रियालाई अझै व्यवस्थित बनाउनु पर्ने देखिन्छ।
‘बुक बिल्डिङमा जाँदा सुरूमा कम्पनी आफैंले मूल्य तोक्न पाउँछ,’ एक लगानीकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यसरी तोकेको मूल्य नियामक निकाय धितोपत्र बोर्डले समेत उचित भए नभएको हेर्ने क्षमता राख्दैन। यदि दस वटा अनुकूलका योग्य संस्थागत लगानीकर्तासँग मिलेमा कम्पनीले आफूलाई अनुकूल हुने आधार मूल्य तोक्न लगाउन सक्ने अवस्था छ।’
सेयर बजार सञ्चालनमा आएको करिब तीन दशक हुन लाग्दा समेत बजारमा उत्पादन लगायतका वास्तविक क्षेत्रका कम्पनीहरू सहभागिता नबढेकै कारण बुक बिल्डिङ ल्याइएको हो। मनसाय सही छ। तर बजारमा एक पटक सर्वसाधारणमा सेयर जारी गरेर बजारबाटै बिना जानकारी हराउने कम्पनी पनि यही क्षेत्रबाट मात्रै छन्।
हालसम्म बजारमा सूचीकृत भएका यस्ता करिब २२ कम्पनीमा १४ वटा कम्पनी हराएकै (अवस्था अज्ञात) कारण नेप्सेले तिनको कारोबार वर्षौंदेखि रोक्का राखेको छ। यस्ता तीन वटा संस्थाको त अनुमति नै खारेज गरिएको छ।
सो समय यी संस्थाले प्रतिकित्ता एक सय रूपैयाँमा सेयर जारी गरेका थिए। अब बुक बिल्डिङ प्रक्रियापछि थप मूल्यमा सेयर जारी गर्न पाउँछन्। कम्पनी भागेको क्रममा मूल्यकै आधारमा पनि जोखिमको स्तर थप बढ्छ।
बुक बिल्डिङ प्रक्रियाले सबै सेयर लगानीकर्ताहरूको सेयरमा पहुँच पाउने अवस्था समेत बन्दैन। जतिले पाउँछन् तिनले पनि अहिले तिरी आएको भन्दा बढी मूल्य तिर्न पर्ने अवस्था आउँछ। र यसमा ठूलाले गरेको मूल्य निर्धारणलाई नै मान्नुपर्ने हुन्छ।
त्यसैले पनि कस्ता कम्पनीहरूलाई बुक बिल्डिङ प्रक्रियामा प्रोत्साहन गर्ने र कस्तालाई नगर्ने भनेर मापदण्ड बनाउनु पर्ने आवश्यकता देखिन्छ। अहिले धितोपत्र बोर्डले सर्वसाधारणमा सेयर जारी गर्न सक्ने कम्पनीहरूको योग्यता किटान गरेको छ। बुक बिल्डिङमा जान चाहने कम्पनीहरूलाई अलग्गै योग्यता भने तोकेको छैन। यसले सर्वसाधारणमा सेयर जारी गर्न योग्य सबैलाई बुक बिल्डिङमा जान बाटो खोलिएको जस्तो देखिन्छ।
सेयर कारोबार गर्न आवश्यक कुल ५१ लाख ५० हजार डिम्याट खाता (सेयरको विद्युतीय अभिलेख राखिने खाता) खोलिएका छन्। दोहोरोपन हुन सक्ने भए पनि यसलाई सेयर लगानीकर्ताहरूको संख्याको रूपमै हेरिन्छ।
सबै किसिमका संस्थाहरूलाई बुक बिल्डिङमा जान खुला गर्ने हो भने स-साना संस्थाहरूमा समेत सबै लगानीकर्ताहरूको पहुँच नपुग्ने अवस्था बन्छ। हाल धितोपत्र बोर्डले पुगेसम्म हरेक आवेदकले सेयर जारी गर्ने कम्पनीको कम्तीमा दस कित्ता पाउने व्यवस्था गरेको छ।
सेयर बजारलाई नेपालका दुरदराजसम्म पुर्याउने भन्दै यसअघि पनि विभिन्न अभियान समेत थालेको थियो। यसैको परिणाम हाल ७७ वटै जिल्लावासीले सेयर डिम्याट एकाउन्ट खोलेका छन्। अब भएजति सबै साना ठूला कम्पनीहरूलाई बुक बिल्डिङ प्रक्रियामै लैजाने हो भने गाउँगाउँमा सेयर कारोबार पुर्याउने यो लक्ष्य कसरी प्राप्त होला, यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ।