वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आगामी जेठको लागि निक्षेपको ब्याजदर नबढाउँने सहमति गरेका छन्। योसँगै तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर ११.०३ मै सीमित भएको छ।
‘ब्याजदर बढाएरपनि बैंकहरूमा खासै निक्षेप बढ्न सकेको थिएन,’ नेपाल बैंकर्स संघका एक पदाधिकारीले भने, ‘अब चुनावअघि दलहरूले गरेको खर्चले बैंकमा केही पैसा भित्रन्छ कि भन्ने अपेक्षा पनि छ।’
चुनावमा भएको खर्च बैंकहरूमा आउने अपेक्षा गरिन्छ। अहिले बैंकिङको निक्षेपमा ठूलो सुधार नदेखिएपनि यस्तो रकम बैंकिङ प्रणलीमा आउन केही समय भने लाग्नेछ। हाल बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका छन् भने ४७ खर्ब २४ अर्ब कर्जा लगानी गरेका छन्।
राष्ट्र बैंकले केही समयअघि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज बढाउँदा अघिल्लो महिनामा सबै बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजको औसतमा १० प्रतिशत विन्दुले मात्र थप्न सक्ने व्यवस्था गरेको थियो। अर्थात अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११.०३ प्रतिशत थियो भने अर्को महिनाको लागि त्यसमा एक प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले यसरी ब्याजदर नियन्त्रण गरेकोमा भने दातृ निकाय अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) लगायतले यस्तो दर खुला छोड्न सुझाएको थियो। निक्षेपको ब्याजदर खुला छाड्दा कर्जाको लागत पनि बढ्ने र कर्जाको ब्याजदरमा वृद्धि हुने भएकोले बजारले नै कर्जा माग कम गर्ने उसको भनाई थियो।
आइएमइफको यस्तो धारणा सार्वजनिक हुनु केही दिन अघि मात्रै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि ब्याजदर बढ्न सक्ने भएकोले सबैलाई तयार रहन बताएका थिए।
राष्ट्र बैंकले ब्याजदर खुला गर्ने नीतिगत व्यवस्था नै भने गरेको छैन। यसको लागि राष्ट्र बैंकले निर्देशन जारी गरेर यसअघि मासिक रूपमा ब्याजदर वृद्धि गर्दा अपनाउनु पर्ने व्यवस्थालाई हटाउनु पर्ने हुन्छ।