राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व सम्बन्धि प्रतिवेदन २०७७/७८’ अनुसार यो अवधिमा बैंकिङ क्षेत्रको आकार ६० खर्ब रूपैयाँ बराबरको भएको छ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति ६० खर्ब ६८ अर्ब रूपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षमा यो क्षेत्रको कुल सम्पत्ति ४९ खर्ब ५३ अर्ब रूपैयाँ थियो। २०७७/७८ मा बैंकिङ क्षेत्रको सम्पत्ति सो समयको मुलुकको अर्थतन्त्रको तुलनामा १४२.२५ प्रतिशत छ। सो समय मुलुकको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब थियो।
बैंकहरूको निक्षेप र कर्जामा भएको वृद्धिले यो क्षेत्रको वित्तीय विवरणको आकारमा वृद्धि भएको हो। समग्र वित्तीय क्षेत्र (सञ्चय कोष, बीमा कम्पनी लगायत) को आकार भने अर्थतन्त्रको १९१.६१ प्रतिशतसम्म पुगेको छ।
कोभिडपछि पनि स्थायित्व कायमै
कोभिड १९ र सोसँगै मुलुकभर गरिएको बन्दाबन्दीका कारण २०७७/७८ मा वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तर खस्किने अनुमान विपरित अबस्था सन्तुलित रहेको राष्ट्र बैंकले दाबी गरेको छ।
अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ६१ अर्ब ५० करोड रहेकोमा गत आवमा यो बढेर ६१ अर्ब ६० करोड रूपैयाँ भएको राष्टरू बैंकको प्रतिवेदनले उल्लेख गरेको छ। राष्ट्र बैंकले समयमै सहज तरिकाले बैंकहरूलाई कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गर्न दिएकोले पनि खराब कर्जा कम देखिएको हो। कोभिड १९ कै कारण सो समय ९६ अर्ब ७० करोड बराबरका कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण भएको थियो। यो खराब कर्जाको करिब १.५ गुणा मात्रै हो।
बैंकहरूको खराब कर्जा कुल कर्जाको १.८९ बाट घटेर १.४८ अनुपातमा सीमित भएको छ।
तरलता सूचक
बैंक तथा वित्तीय संस्थाको आव ०७७/७८ को कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात भने २७.९० प्रतिशतबाट घटेर २६.१८ प्रतिशत छ। कुल सम्पत्तिमा तरल सम्पत्तिको अनुपात भने १८.५१ प्रतिशतबाट बढेर २०.४५ प्रतिशत पुगेको छ।
कुल सम्पत्तिमा तरल सम्पत्तिको अनुपात कम्तिमा २० प्रतिशत हुनुपर्ने मापदण्डलाई बैंकहरूले भरथेग मात्रै गरिरहेका छन्।
तरलताको दबाब कति झेल्न सक्छन् भनेर गरिएको राष्ट्र बैंकको परिक्षणले भने बैंकहरू संवेदनशील हुनुपर्ने देखाएको छ। यदि, ग्राहकहरूले लगातार पाँच दिन दैनिक २ देखि १० प्रतिशतसम्म निक्षेप निकाले भने २७ वाणिज्य बैंकमध्ये १९ वटालाई तरलताको संकट पर्न सक्ने देखिएको छ।
एकै दिन निक्षेपको ५ प्रतिशतसम्म झिकिएको अवस्थामा समेत ५ वटा वाणिज्य बैंकले २० प्रतिशतको तरलता अनुपात कायम गर्न नसक्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।
कर्जा जोखिम सूचक
२७ वाणिज्य बैंकहरूको सो अवधिको कर्जा जोखिम मूल्यांकन गर्दा यदि १५ प्रतिशत बराबरको कर्जा असलबाट कमसल कर्जामा परिणत भए, १५ प्रतिशत कमशल कर्जा शंकास्पद भएमा र २५ प्रतिशत शंकास्पद कर्जा खराब भएमा बैंकहरूले तोकिएको न्युनतम नियामकीय सञ्चितीमा समेत दबाब पर्ने उल्लेख गरेको छ।
न्युनतम नियामकीय सञ्चिती ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। यदि ३ महिनादेखि ६ महिनासम्म भाका नाघेमा सो कर्जालाई कमसल कर्जामा देखाइन्छ। ६ महिनादेखि बढीमा १ वर्षसम्म भाका नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्दा बढी अवधिले भाका नाघेका कर्जालाई खराब कर्जाको रुपमा देखाइन्छ। कमसल कर्जामा यस्तो कर्जा रकमको २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराबकर्जामा शतप्रतिशत रकम प्रावधानको रुपमा राख्नुपर्छ। कर्जा असुल भएपछि यस्तो प्रावधान बैंकहरूले फिर्ता ल्याएर नाफामा देखाउन सक्छन्।