सोमबार सेयर बजार २.२६ प्रतिशतले घटेको छ। कारोबारको लागि साताको पहिलो दिन आज नेप्से परिसूचक ५०.३३ अंकले घटेर २,१७३.४४ विन्दुमा पुगेको हो। यो एक वर्ष यताकै न्यून विन्दु हो।
गत शुक्रबार पनि नेप्से परिसूचक १५.८२ अंकले घटेर २,२२३.७८ विन्दुमा पुगेको थियो। शुक्रबार बिहानी सत्रमा झिनो अंकले बढिरहेको नेप्से मौद्रिक नीतिको तेस्रो त्रैमासिक अवधिको समीक्षा आएलगत्तै घट्न थालेको थियो।
मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताहरूलाई निरुत्साहित गरेपनि बजेटमाथि उनीहरूको अपेक्षा थियो। उनीहरू पुँजीगत लाभकर घटाउने अपेक्षामा थिए। तर यसबारेमा बजेटले कुनै व्यवस्था नगरेपछि लगानीकर्ताहरू निरुत्साहित देखिएका छन्।
'बजेटबाट अपेक्षा थियो। तर हरेक वर्ष झैं पुरानै कुराहरूमात्रै दोहोरियो। हामीलाई यसपालिको बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैं भएको छ,' लगानीकर्ता राधा पोखरेलले भनिन्। उनका अनुसार अहिलेको अवस्था 'पर्ख र हेर'को छ। बजार अझैं घट्न सक्ने उनी प्रक्षेपण गर्छिन्।
केही ब्रोकर कम्पनीहरू पनि बजार थप ओरालो लाग्न सक्ने बताउँछन्। 'बजारमा पुँजी पनि छैन। बजारलाई दोहोरो मार परेको छ। त्यसैले बजार थप ओरालो लाग्न सक्छ। तर बजारबारे यकिनका साथ यही होला भन्न सकिन्न,' एक ब्रोकरले भने।
सोमबार कुल २२७ धितोपत्र तथा ऋणपत्रको ३४ लाख ५६ हजार ५२९ सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रूपैयाँ कारोबार भएको छ। आज १२ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २०८ वटाको मूल्य घटेको छ।
आज सबैभन्दा धेरै बढ्नेमा बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो। कम्पनीको गत साता मात्रै नेप्सेमा सूचीकृत भएको हो। यसपछि उपकार लघुवित्त वित्तीय संस्थाको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको छ। नेपाल इनभेस्टमेन्ट बैंकको भने आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूह सबैको मूल्य घटेको छ। यीमध्ये सबैभन्दा धेरै ट्रेडिङको ३.२२ प्रतिशत, अन्य र लाइफ इन्स्योरेन्सको २.८५ प्रतिशत र हाइड्रोपावरको २.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको ४ करोड ९६ लाख ३८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख ५४ हजार रूपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २३ लाख ३६ हजार रूपैयाँ, एनआइसी एसियाको ४ करोड २ लाख ८ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ९४ लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ।