जेठयता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ। वाणिज्य बैंकहरूको संगठन नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ।
त्यस्तै, बैंकहरूको कर्जा लगानी भने यो अवधिमा ६ अर्बले बढेर ४१ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ। यससँगै बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सडी) अनुपात ९०.४१ प्रतिशत रहेको छ। यस्तो अनुपात आगामी असारसम्म ९० प्रतिशतको सीमामा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
बैंकहरूको अन्तर बैंक कारोबारमा पनि सुधार आएको छ। एकअर्कासँग सापट लिन प्रयोग हुने यो सुविधा अन्तर्गत ब्याजदर गत शुक्रबार ६.९८ प्रतिशत छ। यसलाई व्यवस्थित गर्न राष्ट्र बैंकले ल्याएको ब्याजदर कोरिडरको माथिल्लो सीमा ७ प्रतिशत छ। पछिल्लो समय अधिकांश समय अन्तर बैंक ब्याजदरको सीमा योभन्दा केही माथि रहन थालेको छ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकमा रहेको बैंकहरूको निर्भरता खासै घट्न सकेको छैन। जेठ १६ मा बैंकहरूले राष्ट्र बैंकबाट ७ दिनको लागि ७ प्रतिशतमा पाउँने स्थायी तरलता सुविधा (एसएलएफ) अन्तर्गत ४१ खर्ब ८७ अर्ब लिएका छन्। चालु आवमा हालसम्म बैंकहरूले ७४ खर्ब ७९ अर्ब चलाइसकेका छन्। यसमध्ये २ खर्ब १८ रूपैयाँ अहिले पनि बैंकहरूले चलाइरहेका छन्।