हिमालयन बैंकसँग 'मन मिलाउने' जमर्को असफल भएपछि नेपाल इन्भेस्टमेन्ट बैंक अहिले मेगा बैंकसँग जोडी बाँध्ने तर्खर गरिरहेको छ।
‘केही समयदेखि हामी मेगा बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरिरहेका छौं, वार्ता सकारात्मक छ,’ इन्भेस्टमेन्ट बैंकका एक सञ्चालकले भने, ‘अहिले हाम्रो मन मिलेको छ।’
इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। इन्भेस्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय भए त्यसपछि बन्ने बैंक नेपालकै सबभन्दा ठूलो हुनेछ।
यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ। स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट) ले गर्नेछ।
मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ।
हाल इन्भेस्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ। त्यस्तै इन्भेस्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४७ करोड र मेगा बैंकले २ अर्ब नाफा कमाएको थियो।
इन्भेस्टमेन्ट बैंकमा ज्योति पाँडे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेकी छन्।
इन्भेस्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेस्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ।
त्यस्तै मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ। मेगाको खराब कर्जा अनुपात ०.७२ प्रतिशत छ।
गत वर्षदेखि मर्जरमा जाने तयारी गरिरहेको इन्भेस्टमेन्ट र हिमालयन बैंकबीचको प्रक्रिया अन्तिम समयमा तोडिएको थियो। राष्ट्र बैंकले दुवै बैंकका सेयरधनीको सेयर कारोबार र आधारभूत सेयरधनीको लाभांश वितरण रोक्का गरेको थियो। पछि उच्च अदालतले लाभांश वितरण रोक्का नराख्न परमादेश जारी गरेको थियो।
हाल इन्भेस्टमेन्ट बैंकको आधारभूतबाहेकका लगानीकर्ताको सेयर कारोबार खुला भए पनि हिमालयन बैंकको सबै लगानीकर्ताको सेयर कारोबार रोक्का छ।
सेयर कारोबार हुने बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हिमालयन बैंकको सेयर कारोबार खोल्न राष्ट्र बैंकमार्फत् सम्बन्धित बैंक र नेप्सेलाई कुनै पत्राचार भएको छैन।
राष्ट्र बैंकले सेयर कारोबार खोल्न सकिने निर्देशन नदिँदासम्म हिमालयनको भने सबै सेयरधनीको कारोबार रोक्का रहनेछ।