बजार न्यूनतम विन्दुमा आएसँगै गत एक सातामा लगानीकर्ताहरूले बजारमा पुँजी थपिरहेका छन्। केही समयदेखि नेप्से परिसूचक १७ महिनायताकै न्यून विन्दु आसपास आएको छ। यही कारण बजारमा धेरै कम्पनीहरूको सेयर मूल्य घटेको छ।
वाणिज्य बैंकदेखि विभिन्न क्षेत्रका कम्पनीहरूको सेयर मूल्य तीन सयमुनिसम्म आइसकेको छ। त्यसैले पनि लगानीकर्ताहरू आशावादी भइरहेका छन्।
गत साता नेप्से परिसूचक एक सय ४५ अंकले घटेर शुक्रबार २ हजार ७८ विन्दुमा आइपुगेको छ। कारोबार रकम भने करिब ९ प्रतिशतले बढेर ६ अर्ब २० करोड पुगेको हो। अघिल्लो साता भने नेप्से २ हजार २ सय १४ विन्दुमा थियो भने ५ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको थियो।
पछिल्लो समय बजार उच्च दरमा घट्न थालेसँगै लगानीकर्ताहरू नियामक निकाय र सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रने भन्दै कार्यक्रमहरू तोकिएको छ।
विशेषगरी केही वर्षअघि राष्ट्र बैंक लगायतसहितको अध्ययन टोलीले ५२ बुँदे सुधार सिफारिस गरेको थियो। तिनमा अझै केही सुधार हुन बाँकी रहेको भन्दै लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
केहीले भने राष्ट्र बैंकले एकल ग्राहकले एकबैंकबाट लिन सक्ने कर्जा रकम सीमा र सबै प्रणालीबाट लिन सक्ने कर्जा सीमामा संशोधन गर्न समेत माग गरिरहेका छन्। एक बैंकबाट अधिकतम ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट कम्तिमा १२ करोड रूपैयाँसम्म लिन पाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ। असारसम्म कम्तीमा यो सीमामा ल्याउनु पर्ने व्यवस्था गरिएको छ।
यो नियमले केही ठूला लगानीकर्ताहरू बढी प्रभाव पर्ने भए पनि उनीहरूले बिक्री बढाउँदा बजार घटिरहेको भन्दै अन्यले पनि यसको विरोध गरिरहेका हुन्।
अधिक बिक्री क्षेत्रमा बजार :
गत साता सेयर बजार अधिक बिक्रीको क्षेत्रमा देखिएको छ। १४ दिने आरएसआई सूचक विश्लेषण अनुसार नेप्से १४.३१ विन्दुमा छ। यसरी अधिक बिक्री क्षेत्रमा आएसँगै बजारले पुनः वृद्धि समात्ने विश्लेषण पनि गरिन्छ।यस्तो सूचक स्केल ७० माथि रहे बजार अधिक खरिदमा, ३० मुनि रहे अधिक बिक्रीमा र ३० देखि ७० को बीचमा रहे सन्तुलित अवस्थामा रहेको मानिन्छ।
गत साता नेप्सेले पाँचै दिन लगातार कालो (रातो) मैनबत्ती आकृति बनाएको छ। बुधबारपछि बजार घट्न रोकिन संकेत गरिरहँदा पनि सो सफल नभएको देखिन्छ। त्यसपछिका दिन पनि लगातार कालो मैनबत्ती बनेकोले बजारमा तत्काल परिवर्तन देखिन नसक्ने अवस्था पनि छ। यद्यपि सोमबारको बजार पछि नै यसको प्रवृत्ति थाहा पाउन सकिनेछ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि बियरिस (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा माथि छ।
अहिले यी दुवै रेखा समानान्तर रूपमा अगाडि बढेका छन्। ७ दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा बुलिस (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ र २१ दिने रेखाले ७ दिने रेखालाई काटेर अगाडि बढेमा बियरिस प्रवृत्ति सुरू हुने विश्लेषण गरिन्छ।
यस साताको पिभट विश्लेषण अनुसार अन्तिम दिन घटेको नेप्सेले आगामी साता २ हजार ३ सयमा पहिलो टेवा पाउने र त्यहाँबाट बजार बढ्न थालेमा भने २ हजार १ सय ८३ मा पहिलो प्रतिरोध परीक्षण गर्नेछ।