सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा जेठ २४ गते फिर्ता लिएसँगै सेयर बजारमा पनि शुक्रबार नियमित कारोबार नहुने सम्भावना बढेको छ।
नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल भइरहेको हो।
गत जेठ १ गतेदेखि सरकारले परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो। योबीचमा हालसम्म तीनवटा शुक्रबार बजार खुल्ला रह्यो।
सेयर खरिद-बिक्री केन्द्रबाट वि. सं. २०५० मा नेपाल स्टक एक्सचेन्जको रुपमा रुपान्तरण भएसँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। सुरूमा दैनिक दुई घण्टा कारोबार हुने बजार हाल दैनिक ४ घण्टा खुला रहने गरेको छ।
यसअघि अन्य दिन एक पटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो। तर २०७३ यता भने नियमित कारोबारमै १ कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो।