बजार लगातार आठौं दिन घट्दा नेप्से परिसूचक २०२०.२३ को बिन्दुमा आइपुगेको छ। मंगलबार एकैदिन बजार ४५.५९ अंकले घटेको हो। बजार न्यूनतम बिन्दुमा आइपुग्दा चार महिनामा मै लगानीकर्ताहरूले १३ खर्ब रकम गुमाएका छन्।
२०७८ माग ३ गते ४१ खर्ब ६३ अर्ब रहेको लगानीकर्ताको सम्पति (कुल बजार पुँजीकरण) मंगलबारसम्म आइपुग्दा १२ खर्ब ८६ अर्बले घटेको छ। यो ३० प्रतिशतको गिरावट हो।
बजार हालसम्मको उच्च बिन्दु ३,१९८ बाट १,१७८ अंकले घटिसकेको छ। यो करिब ३७ प्रतिशतको गिरावट हो। यसले बजार बियरिस प्रवितिमा प्रवेश गरिसकेको संकेत गर्छ। नजिकको उच्च बिन्दुबाट बजार २० प्रतिशतभन्दा धेरैले ओरालो लागेमा बजार बियरिस प्रवितिमा रहेको मानिन्छ। नेप्सेले २०७८ भदौ २ गते हालसम्मको उच्च बिन्दु भेटेको थियो।
विशेषगरी बजेटले पुँजीगत लाभकर घटाउन सक्ने तथा बजार विकासका लागि नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू रहेपनि त्यसो नहुँदा लगातार घटेको बजार थप घटेको हो।
त्यसबाहेक बैंकिङ क्षेत्रमा तरलताको समस्या समाधान हुन नसकेको कारण बैंकहरूले थप कर्जा लगानी रोकिरहेका छन्। आगामी साउन पछि पनि कर्जा लगानी सहज हुन बैंकिङ प्रणालीमा लगभग २ खर्ब रूपैयाँ भित्रनुपर्ने बैंकरहरूले बताउन थालेका छन्। यही दबाबका बीच सेयर बजार पनि उभो लाग्न नसकेको हो। नेप्से घटेसँगै सेयर लगानीकर्ताहरूले बजार सुधारको माग गर्दै आन्दोलन थालेका छन्।
बजार घटेपनि आज अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ। आज कुल २३४ किसिमका धितोपत्र तथा ऋणपत्रको ३८ लाख ८७ हजार ७४८ सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड २८ लाख ६ हजार रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन भने जम्मा ४४ लाख ९ हजार ६९१ सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रूपैयाँको कारोबार भएको थियो।
आज पनि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। अघिल्लो दिन पनि कम्पनीको सकारात्मक सर्किट ब्रेक लागेको थियो। यसपछि आज बलेफी हाइड्रोपावरको आज ९.९८ प्रतिशतले बढेको हो। अघिल्लो दिन समेत सो हाइड्रोपावरको ९.९८ प्रतिशतले मूल्य बढेको थियो।
आज पनि सबैभन्दा धेरै घट्नेमा हिमालयन बैंक लिमिटेड परेको छ। बैंकको अघिल्लो दिन ९.९९ अंकले घटेकोमा आज ९.९७ अंकले घटेको हो। यसपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ५.९९ अंकले घटेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। मंगलबार म्यानुफ्याक्चर एन्ड प्रडक्सन २.७४ प्रतिशत, बैंकिङको २.७४ प्रतिशत, विकास बैंकको २.४६ प्रतिशत र फाइनान्सको २.४५ प्रतिशतले सेयर मूल्य घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ६ करोड ११ लाख ८८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि कुमारी बैंकको ५ करोड ८८ लाख २४ हजार रूपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख २० हजार रूपैयाँ, शिवम् सिमेन्टको ३ करोड २० लाख ७७ हजार रूपैयाँ र नबिल बैंकको २ करोड ९० लाख ४६ हजार रूपैयाँको कारोबार भएको छ।