मासिक दरमा भित्रिँदै आएको रेमिटेन्स फागुन र चैतमा लगातार बढे पनि यो क्रमले वैशाखमा निरन्तरता पाउन सकेन। चैतको तुलनमा वैशाखमा ६ अर्ब ५० करोड रूपैयाँ कम रेमिटेन्स भित्रिएको छ।
गत चैतमा ९३ अर्ब ५५ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको भए पनि वैशाखमा जम्मा ८७ अर्ब ५ करोड रूपैयाँ भित्रिएको हो।
वार्षिक आधारमा भने वैशाखसम्म कुल ८ खर्ब ११ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्षको यही अवधिमा भित्रिएकोभन्दा यो एक अर्ब रूपैयाँ बढी हो। अघिल्लो वर्ष वैशाखसम्म ८ खर्ब १० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
रेमिटेन्स आउने क्रममा वार्षिक वृद्धिदर ०.२ प्रतिशत मात्र छ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको भए पनि चालु आर्थिक वर्षमा बढेको छ। त्यसैले पछिल्ला दिनमा रेमिटेन्स वृद्धि हुनसक्ने अपेक्षा गरिएको छ।
घट्दो रेमिटेन्सको प्रभाव मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिमा पर्दै आएको छ। चैतको तुलनामा विदेशी मुद्रा सञ्चिति २१ अर्ब रूपैयाँ कम भएको छ। अहिले हाम्रो विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब रूपैयाँ छ। चैतसम्म यो सञ्चिति ११ खर्ब ६७ अर्ब रूपैयाँ थियो।
मुलुकको यस्तो सञ्चितिले आगामी ६ महिना ५ दिन बराबरको आयात मात्र धान्ने अवस्था छ।
सरकारले आयात निरूत्साहन गरेर र रेमिटेन्स भित्रिने खातामा बढी ब्याजदर दिएर पनि विदेशी मुद्रा सञ्चिति बढाउने प्रयास गरिरहेको छ। यो नीतिले हालसम्म प्रभावकारी काम गरेको देखिँदैन।
वैशाखसम्म कुल १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। मासिक रूपमा भने आयातमा केही कमी आएको छ। चैतमा एक खर्ब ५७ अर्ब रूपैयाँको आयात भएकामा वैशाखमा एक खर्ब ३७ अर्ब रूपैयाँको आयात भएको छ।
हाम्रो निर्यात भने वैशाखसम्म करिब ५९ प्रतिशतसम्म बढेर एक खर्ब ७३ अर्ब पुगेको छ। तर यसले व्यापार घाटा घटाउन सकेको छैन। हाम्रो व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको छ। मुलुकले गर्ने आम्दानीभन्दा खर्च बढिरहेकाले भुक्तानी सन्तुलन (शोधानान्तर) घाटा समेत वैशाखमा २० अर्ब बढेको छ। शोधानान्तर घाटा अहिले दुई खर्ब ८८ अर्ब पुगेको छ। चैतमा यो घाटा २ खर्ब ६८ अर्ब रूपैयाँ थियो।
राष्ट्र बैंकद्वारा जारी पछिल्लो तथ्यांकअनुसार नेपालमा पर्यटकले आएर गर्ने खर्च रकम २२ अर्ब रूपैयाँ छ। अर्कातिर नेपालीले विदेश भ्रमणमा ७२ अर्ब रूपैयाँ खर्च गरेका छन्। त्यस्तै बाहिर अध्ययनका लागि यो अवधिमा ५१ अर्ब रूपैयाँ बाहिरिएको छ।
मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा १८ प्रतिशत वृद्धि भएको छर तर यसले विदेशी मुद्रा सञ्चितिमा ठूलो प्रभाव पार्न सकेको छैन। वैशाखमा १६ अर्ब ६४ करोड रूपैयाँ यस्तो लगानी भित्रिएको छ।