चालु आर्थिक वर्षमा चैतको तुलनामा वैशाखमा वाणिज्य बैंकहरूको नाफा १४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षमा चैतको तुलनामा वैशाखमा नाफा १० प्रतिशतले मात्र वृद्धि भएको थियो।
चालु आर्थिक वर्ष चैतमा बैंकहरूले ५१ अर्ब १ करोड रूपैयाँ नाफा कमाएका थिए। वैशाखमा यो नाफा १४.३४ प्रतिशतले बढेर ५८ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष भने बैंकहरूले चैतमा ५० अर्ब ७४ करोड नाफा कमाएका थिए। सोही वर्ष वैशाखमा नाफा १०.५१ प्रतिशतले बढेर ५६ अर्ब पुगेको थियो।
हाल बैंकहरूको वैशाखसम्मको वार्षिक नाफा भने ४.०३ प्रतिशतले मात्र वृद्धि भएको छ।
गत आर्थिक वर्षमा बैंकहरूको वार्षिक नाफा १६ प्रतिशतले वृद्धि भएको थियो। त्यो बेला बैंकहरूले ६३ अर्ब ३७ करोड रूपैयाँ कमाएका थिए।
चालु आर्थिक वर्ष गत आर्थिक वर्ष जस्तै वृद्धिदर कायम गर्न बैंकहरूले कुल ७३ अर्ब ५१ करोड रूपैयाँ कमाउनु पर्ने हुन्छ। अर्थात् वैशाखसम्म ५८ अर्ब कमाएका बैंकहरूले अब जेठ र असारमा दुई महिनाभित्र थप १५ अर्ब १७ करोड रूपैयाँ कमाउनु पर्छ।
दबाबमा बैंकहरूः
बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असारसम्म कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतमा ल्याइसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अहिले बैंकहरूले कर्जा घटाएरै पनि यो अनुपात सीमामा ल्याइरहेका छन्। हाल सिडी रेसियो ८९.८७ प्रतिशत छ।
नेपाल बैंकर्स एसोसिएसनले दिएको तथ्यांक अनुसार गत जेठ २० गते अघिल्लो साताको तुलनामा वाणिज्य बैंकको कुल कर्जा रकम २ अर्बले घटेर ४१ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ८७ अर्बमा सीमित भएको छ। यसले पनि वाणिज्य बैंकहरूले कर्जा नै घटाएर सिडी रेसियो सीमामा ल्याइरहेको देखिन्छ।
यसबाहेक बैंकहरूले हाल प्राथमिक पुँजीमा जोडिने बाहेकका ऋणपत्र निक्षेप रकममा जोडेर सिडी रेसियो पुर्याउन पाउँछन्। यसमा पनि यस्तो ऋणपत्र या त सिडीमा या बैंकहरूले कायम गर्नुपर्ने पुँजी कोष अनुपातमा (एकतिर) मात्रै जोड्न पाउँछन्। यो व्यवस्थाले खुद तरल सम्पत्ति तोकिएको २० प्रतिशतभन्दा कम भएकाहरूलाई समस्या पर्नेछ।
राष्ट्र बैंकको नियम अनुसार जोखिमयुक्त सम्पत्तिको तुलनामा बैंकहरूले कम्तिमा ११ प्रतिशत पुँजी कोष राख्नुपर्छ। तर, खुद तरल सम्पत्ति २० प्रतिशत नपुग्नेलाई पुँजी कोष पर्याप्तता अनुपात पुर्याउन थप सकस पर्छ। जुन बैंकको खुद तरल सम्पत्ति २० प्रतिशत बराबर पुग्दैन, त्यस्ता बैंकले नपुगेको बराबर नै जोखिम प्रावधान बढाउनुपर्छ।
अर्थात्, हाल १७ प्रतिशत खुद तरल सम्पत्ति हुनेले निक्षेपको ३ प्रतिशत बराबर रकम यस्तो प्रावधानको रुपमा राख्नुपर्छ। यसले जोखिम सम्पत्ति बढाउँछ भने यसरी बढेको जोखिम अनुसार नै बैंकहरूले पुँजी पर्याप्तता अनुपात घट्न जान्छ। यो अनुपात बढाउने दबाबले कर्जा लगानीमा समेत दबाब पर्छ।
त्यसबाहेक राष्ट्र बैंकले आगामी आवबाट पुँजी कोष पर्याप्तता अनुपातमा समेत वृद्धि गर्ने सम्भावना छ। यसको एउटा अंकको रूपमा रहने काउन्टर साइक्लिकल बफर्स कार्यान्वयनमा ल्याउने सोच बनाएको छ।
यसअघि नै यस्तो बफर्स लगाउने राष्ट्र बैंकको तयारी थियो। कोभिड प्रभावका कारण राष्ट्र बैंकले यसलाई थाति राख्यो। यसलाई लगाइएमा पुँजी कोष पर्याप्तता अनुपात थप २.५ प्रतिशतले बढाएर १३.५ प्रतिशतसम्म हुने अवस्था आउँछ। यसले पनि बैंकहरूलाई पुँजीको दबाब कायम रहन्छ। निक्षेपमा खासै वृद्धि नभइरहेको हालको अवस्थामा यसले कर्जा लगानी क्षमतामा पनि असर गर्छ।