एनएमबी बैंकले लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकहरूलाई वित्तीय साक्षरता तालिम दिएको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिब एक सय ५० जना कृषकहरूको उपस्थिति रहेको थियो।
बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरूलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसबाहेक किसानहरूसँग अन्तर्क्रिया समेत गरी उनीहरूको जिज्ञासा तथा सुझावहरू संकलन गरिएको थियो।
कार्यक्रममा एनएमबी बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए।
सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका करिव एक हजार पाँच सय किसानहरू प्रत्यक्ष रुपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन्।
यस क्षेत्रमा उत्पादित तरकारीहरू नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरूमा पठाइन्छ।
बैंकद्वारा आयोजित वित्तीय साइरता तालिमले किसानहरूमा वित्तीय ज्ञान हासिल गरी आत्मनिर्भर बन्न सघाउन र अर्थतन्त्रलाई सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ।