डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरूको वित्तीय आवश्यकताहरू अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत विभिन्न आवश्यक सेवाहरूको लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ।
प्रारम्भिक रूपमा ग्राहकहरूले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्युआर कोड लगायतका सेवाहरूको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ।
वेबसाइट मार्फत ग्राहकहरूले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशन/ बन्द गर्न/ पासवर्ड रिसेट गर्न, मेरो सेयरको रजिष्टेसन/ नविकरण/ पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्युआर कोडको दर्ता/ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन्।
यी सबै सेवाहरू बैंकको वेबसाइट मार्फत प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ।
निकट भविष्यमा अन्य थुप्रै सेवाहरूलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ। हाल बैंकले आफ्नो १७५ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट ग्राहकहरूलाई बैंकिङ सेवा पुर्याइरहेको छ।