नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने व्यवस्था गरेको छ। नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरूलाई सो विशेष सुविधा दिने गरी बुधबार बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको हो।
उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख वाणिज्य अधिकारी संगीता पहाडी र नेपाल बैंकका प्रमुख फाइनान्स अधिकारी होम बहादुर खड्काले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डेटाको आवश्यकता नपर्ने भएको हो। यो सुविधा सिमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा भएको समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरू खगेन्द्र बहादुर श्रेष्ठ र रञ्जित लोहिया लगायतको उपस्थिति थियो।
हाल बैंकले नेपालभर रहेको आफ्नो २१३ शाखाहरू, १७९ एटिएम मेसिन र ४९ वटा एक्टेन्सन काउन्टर मार्फत ग्राहकहरूलाई बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।