सेयर बजारमा गैरआवासीय नेपाली भित्र्याउने चर्चा चलेको दशकौं भइसकेको छ। केही वर्षदेखि एकाध छाडेर हरेकजसो बजेटले सेयर बजारमा गैरआवासीय नेपाली भित्र्याउने परिकल्पना पनि गरेको छ। तर यसको गाँठो जति बलियो छ, त्यति नै कमजोर छ फुकाउने प्रयास।
हालको परिभाषाअनुसार गैरआवासीय सम्बन्धी ऐन २०६४ ले नेपाली मूलका विदेशी नागरिक वा कम्तीमा दुई वर्षदेखि विदेशमा बस्दै आइरहेको नेपाली नागरिकलाई गैरआवासीय नेपालीको मान्यता दिएको छ। यस्ता व्यक्तिहरू सार्क राष्ट्र बाहेकका मुलुकमा बसेका हुनु पर्नेछ।
गैरआवासीय नेपालीले वा उनीहरूको पचास प्रतिशतभन्दा बढी सेयर लगानी भएको कुनै विदेशी कम्पनीले यहाँका विभिन्न क्षेत्रमा पुँजी भित्र्याउन सकिने व्यवस्था छ। यस्तो लगानी गरिएको उद्योग, व्यवसाय वा सरकारले राजपत्रमा सूचना जारी गरेर खुला गरेको अन्य कुनै उद्योग वा व्यवसायमा पनि लगानी गर्न सक्ने व्यवस्था गैरआवासीय सम्बन्धी ऐन र नियमावलीले गरेको छ।
त्यस्तै नेपाली नागरिकता त्यागिसकेका वा नेपाली मूलका विदेशी नागरिकले काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी, तराई क्षेत्रका नगरपालिकामा आठ कठ्ठा, काठमाडौं र तराई बाहेकका अन्य नगरपालिकामा बढीमा चार रोपनी, तराईका साविकका गाउँ विकास समितिहरूमा एक बिघा वा यीबाहेकका सबै क्षेत्रमा दस रोपनी जग्गा किन्न पाउने व्यवस्था छ।
यीबाहेक अन्य कुनै पनि क्षेत्रमा के कसरी लगानी गर्न सक्छन् भन्ने उल्लेख छैन। हालको अभ्यास सर्सर्ती हेर्ने हो भने नेपाली नागरिकता नत्यागेका तर गैरआवासीय नेपालीको हैसियतमा रहेकाहरूले अहिले पनि सेयर बजारमा लगानी गरिरहेकै छन्। समस्या भनेको नागरिकता त्यागेका वा नेपाली मूलका विदेशी नागरिकको हैसियतमा रहेकाहरूलाई हो।
'केही समयअघि अस्ट्रेलियाको नागरिकता लिइसकेका एक व्यक्तिले आफूले पहिल्यै किनेको सेयर डिम्याट (विद्युतीय अभिलेख) गर्न आएका थिए,' एक मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'तर उनले डिम्याट खाता समेत खोल्न सकेनन् र अस्ट्रेलियामै रहेकी तर नागरिकता त्यागी नसकेकी आफ्नी श्रीमतीको नाममा डिम्याट खोलेर सेयर जम्मा गरे।'
नियमले भने विदेशी नागरिकको हैसियतमै रहेका नेपालीले पनि डिम्याट खाता खोल्न रोकेको छैन। धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गैरआवासीय नेपालीले यस्तो परिचय पत्र देखाएर डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ। धितोपत्र व्यवसायी (ब्रोकर र मर्चेन्ट बैंकर) नियमावलीले समेत ग्राहकको विवरण लिँदा गैरआवासीय नेपालीसँग परिचयपत्र लिन सक्ने व्यवस्था गरेको छ।
'नेपाली मूलका विदेशी वा नागरिकता त्यागेका नेपालीले डिम्याट खाता खोल्नै भने समस्या हुन नपर्ने हो,' सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्यौपानेले भने, 'तर सेयर कारोबार गर्न पाउने वा नपाउने विषयमा भने दुविधा देखिएको छ।'
सेयरको दोस्रो बजारमा (सेयर जारी गरिसकेका कम्पनीको कारोबार हुने स्थल नेप्सेमा) हुने कारोबारका लागि आवश्यक डिम्याट खाता गैरआवासीय नेपालीले खोल्न सक्ने व्यवस्था भए पनि प्राथमिक बजारमा सेयर हाल्न भने नेपाली नागरिक नै हुनुपर्छ।
धितोपत्र दर्ता तथा निस्कासन नियमावलीको दफा ४६ को धितोपत्र निस्कासन प्रक्रियामा सेयरमा आवेदन दिँदा आवेदन दिनेले स्वयं प्रमाणित गरेको नागरिकताको प्रतिलिपि चाहिने उल्लेख छ। यही नियमावलीको अनुसूची ५ को २६ बुँदामा रहेको 'आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू' मा लगानीकर्ताको पहिचानका लागि नागरिकता/जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर हुने उल्लेख छ।
धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर मान्य हुने अवस्था प्राकृतिक व्यक्तिका लागि नभएर संस्थागत लगानीकर्ताहरूका लागि हुने भन्ने देखिन्छ।
मौजुदा नियमहरूले गैरआवासीय नेपालीका रूपमा रहेका तर नेपाली नागरिकता नभएका वा त्यागेकाले दोस्रो बजारमा सेयर कारोबार गर्न पाइने अवस्था छैन। ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले पनि यही कुराको पुष्टि गरे। धितोपत्र बोर्डको भने फरक भनाइ छ।
'नेपाली नागरिकता त्यागेका वा नभएका नेपाली मूलका विदेशीले सेयर खाता नै खोल्न नसकेको भन्ने गुनासो हालसम्म आएको छैन,' धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसीले भने, 'यहाँ उनीहरूले कारोबार नै गर्न नपाउने भन्ने त छैन। जहाँसम्म लाग्छ पैसा मुलुकबाट बाहिर लैजान मात्रै समस्या हुनुपर्ने हो।'
सेयर कारोबारबाट कमाएको रकम लैजान सक्ने प्रावधान नै नभएकाले नागरिकता त्याग्नुअघि किनिएको सेयर डिम्याट खातामा राख्नेबाहेक यी व्यक्तिहरूले थप सेयर किनबेच नगर्ने गरेको ब्रोकरहरूको भनाइ छ।
मुख्य समस्या भनेको नै यहाँ कमाएको रकम विदेश लैजान नसक्नु हो।
उद्योग वा यहाँका व्यवसायमा संस्थापक सेयर लगानीकर्ताका रूपमा गरिएको लगानीबाट प्राप्त प्रतिफल लैजान समस्या नभए पनि सेयर कारोबारबाट आर्जित रकम लैजान सहज छैन। गैरआवासीय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेका क्षेत्रमा भएको लगानीबाट हुने प्रतिफल मात्रै फिर्ता लैजान सक्ने व्यवस्था छ। गैरआवासीय नेपाली ऐनमा जस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले पनि उस्तै क्षेत्र लगानीको लागि खुला गरेको छ। त्यसबाहेक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले पुँजी लगानी कोष खडा गर्ने संस्थागत विदेशी लगानीकर्तालाई मात्रै सेयर कारोबार गर्न सक्ने व्यवस्था गरेको छ।
नेपालले चालु खाता पूर्ण परिवर्त्य बनाएको छैन। अर्थात् यहाँको मुद्रा बिना नियमन अन्य जुनसुकै मुद्रामा परिवर्तन गर्न सकिँदैन। यहाँका नेपालीले विदेशमा सम्पत्ति किन्न पाउँदैनन्। त्यसैले पनि चालु खाता पूर्ण परिवर्त्य नबनाउँदासम्म नेपाली नागरिकता नै त्यागेका वा नेपाली मूलका विदेशीले सेयर बजारमा सहजै कारोबार गर्न सक्ने अवस्था छैन।
नेपालले चालु खाता परिवर्त्य नगरेकै कारण नेपाली नागरिकता नत्यागेकाहरूले समेत विदेशमै रहेर त्यहाँकै बैंकको खाताबाट भुक्तानी हुने गरेर सेयर कारोबार गर्न सक्ने अवस्था भने अहिले छैन।