सोमबार सोयर बजार मापक नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा पुगेको छ। यो १९ महिना यताकै न्यून बिन्दु हो। २०७७ मंसिर १० गते नेप्से परिसूचक १८७४.८१ बिन्दुमा पुगेको थियो।
आज नेप्से अन्तर्रदिनको कारोबारमा १,८८१ को न्यून बिन्दु छोएर उकालो लाग्ने प्रयासमा देखिएको छ। यो १,८८१ बिन्दु यस अघिको उच्च बिन्दु हो। २०७३ साउन १२ मा नेप्सेले यो उचाइ कायम गरेको थियो। बजारमा अघिल्ला उच्च बिन्दुहरू घट्ने क्रममा भने बलियो टेवा सावित हुने गर्छन्।
लगानीकर्ताहरूमा पनि यस्ता बिन्दुमा मनोवैज्ञानिक आशा विकास भएको हुन्छ। यही कारण सोमबार यो बिन्दुमा नेप्से थामिने प्रयासमा देखिएको छ। हालको पछिल्लो उच्च बिन्दु भने ३,१९८ हो। २०७८ भदौ २ मा कायम भएको यो उच्च बिन्दु हालसम्मकै नयाँ उच्च बिन्दु हो।
सेयर बजार घटेपनि आज कारोबार रकम बढेको छ। बजारले टेवा पाउने आशामा नै बजारमा लगानी वृद्धि भएको देखिन्छ। सोमबार कुल २३० धितोपत्र तथा ऋणपत्रको ६१ लाख ८६ हजार ९४१ सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम जम्मा एक अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुगेको थियो।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ६ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २१९ वटाको मूल्य घटेको छ। आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा आज सकारात्मक सर्किट ब्रेक लागेको छ। तेर्ह्रथुम पावर कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको हो। कम्पनीको नकारात्मक सर्किट ब्रेक लागेको छ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ४.२८ प्रतिशत र विकास बैंकको ४.१३ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक सेयरको ११ करोड ८३ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि एनटिसीको १० करोड ९२ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको ४ करोड ३५ लाख ७३ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ७ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ।