‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआइसी एशिया बैंकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ।
सोही अनुरुप बैंकले डिजिटल भुक्तानी प्रबर्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण गर्न सुरू गरेको छ। बैंकले क्युआर कोड उक्त ठाउँका २०० भन्दा बढी अटो रिक्सा एवम् सिटी सफारी जस्ता सवारी साधनहरूमा सुरुवाती चरणमा वितरण गरेको हो।
सोमबार एक कार्यक्रमबीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले उक्त क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका २०० भन्दा बढी ई-रिक्सा सदस्यहरूलाई क्युआर भुक्तानी सेवा वितरण गरेका हुन्। यसरी क्युआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरूलाई बैंकले शून्य मौज्दात मै एक वर्षको निमित्त १० लाख रुपैयाँ रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ।
‘क्युआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ।’
बैंकले थालेको क्युआर कोड वितरण अभियानले धरान क्षेत्रमा रहेका यातायात प्रणालीहरूमा डिजिटल कारोबार गर्दा सहजता प्रदान गर्ने विश्वास राखिएको छ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्षेत्रहरूमा क्युआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइरहेकोमा प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा बढी क्युआर कोड वितरण गर्ने तयारी गरिरहेको छ।
हाल बैंकले देशभर रहेको आफ्नो ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।