धितोपत्र बोर्डको सञ्चालक समितिले हरेक वर्ष सेयर ब्रोकर कम्पनी थप्न सकिने गरी धितोपत्र व्यवसायी नियमावलीको संशोधन मस्यौदा स्वीकृत गरेर अर्थ मन्त्रालय पठाएको छ।
संशोधित मस्यौदा मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै लागू हुनेछ। यो स्वीकृत भएपछि अब हरेक वर्ष साउनमा ब्रोकर कम्पनी थप्न आवेदन दिन सकिने र आएको आवेदन स्वतः प्रक्रियाका लागि अगाडि बढ्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले जानकारी दिए।
'हामीले चुक्ता पुँजी लगायतका कसिलो मापदण्ड बनाएका छौं। त्यसैले हरेक वर्ष आवेदन लिन समस्या पर्ने अवस्था रहँदैन,' उनले भने।
धितोपत्र बोर्डले यसपटकदेखि ब्रोकरका लागि आवेदन लिँदा परीक्षा समेत लिन नपर्ने व्यवस्था गरेको छ। हालसम्म परीक्षा लिएर मात्रै ब्रोकर छनोट गरिँदै आएको छ। वस्तुगत आधारमा योग्य धितोपत्र दलाल छनोट गर्ने अधिकार धितोपत्र बजारमा थियो।
संशोधित मस्यौदाले पनि पहिलो पटक ३० दिनको समय दिएर नेप्सेले ब्रोकर बन्न चाहनेसँग निवेदन माग गर्नुपर्ने र त्यसपछिको प्रत्येक आर्थिक वर्षको पहिलो महिनामा इच्छुक कम्पनीहरूले सिफारिसका लागि धितोपत्र बजारसमक्ष निवेदन दिन पर्ने व्यवस्था गरेको छ।
हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज मात्र धितोपत्र बजारको रूपमा सञ्चालनमा छ। अन्तिम पटक २०६८ मा २७ वटा ब्रोकर थपिएका थिए। हाल बजारमा ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्।
बोर्डले संशोधन गरेको मस्यौदाअनुसार अब ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोडदेखि एक अर्ब ५० करोड रूपैयाँ हुनुपर्नेछ। ब्रोकर कम्पनीलाई तीन किसिममा विभाजन गरिएर पुँजी तोकिएको छ।
सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र किनबेच गर्ने कम्पनीको चुक्ता पुँजी २० करोड रूपैयाँ तोकिएको छ। यसबाहेक मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्यको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रूपैयाँ तोकिएको छ।
आफ्नो लागि समेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागन लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी भने एक अर्ब ५० करोड रूपैयाँ तोकिएको छ।
हाल दुई करोड चुक्ता पुँजी भएका कम्पनीहरूले ब्रोकरको काम गर्न पाइरहेका छन्।
बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीहरूले समेत ब्रोकरका लागि लाइसेन्स दिन पाउने भएका छन्। हालको नियमावलीले पनि ‘क' वर्गका वाणिज्य बैंकहरूको ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले समेत ब्रोकर लाइसेन्सका लागि अनुमति दिन सकिने व्यवस्था गरेको छ।
'मापदण्ड पुगेका जोकसैले पनि ब्रोकरको अनुमतिका लागि आवेदन दिनसक्ने भएपछि बैंकहरूले सहायक कम्पनी मार्फत् पनि यसका लागि आवेदन दिन सकिने भयो,' बोर्डका अध्यक्ष हमालले स्पष्ट पारे।
परीक्षा बिनै ब्रोकर कम्पनी छनोट गर्ने विषयमा भने विवाद देखिएको छ।
'अहिले सेयर बजारमा प्रविधिको प्रयोग बढेकाले ब्रोकरको मनलाग्दी संख्यामा धितोपत्र दलाल थप्न आवश्यक छैन,' बोर्डका एक पूर्वअध्यक्ष भन्छन्, 'केही निश्चित समूहका लागि बोर्डले काम गरिरहेको आशंका गर्न सकिने ठाँउ छ।'