बिहीबार भारतीय रूपैयाँको भाउ अमेरिकी डलरको तुलनामा अझै कमजोर भएको छ। योसँगै नेपाली रूपैयाँ थप दबाबमा पर्ने देखिएको छ।
बिहीबार भारतीय बजारमा एक डलर करिब ८० भारू (७९.७५ भारू) मा कारोबार भइरहेको छ। अमेरिकामा जुन महिनामा मूल्यवृद्धि ९.१ प्रतिशतसम्म पुगेको सार्वजनिक भएसँगै अमेरिकी केन्द्रीय बैंकले त्यहाँको नीतिगत ब्याजदर बढाउने अपेक्षामा डलरको भाउ बढिरहेको छ।
गत जुनमा अमेरिकाले नीतिगत ब्याजदरमा एकै पटक ०.७५ प्रतिशत (७५ आधार विन्दु) ले बढाएको थियो।
एक दशकमा पहिलो पटक यसरी एकैपटक ठूलो दरले ब्याज बढाइएको थियो। जुन महिनामा अमेरिकामा ८.८ प्रतिशतमा मूल्यवृद्धि सीमित हुने प्रक्षेपण थियो। तर प्रक्षेपण विपरीत धेरै वृद्धि देखिएको हो।
विश्व मन्दीको त्रासमा भारतीय मुद्रा यो वर्ष डलरको तुलनामा ६.५ प्रतिशतले सस्तिसकेको छ। जुलाई १ यता मात्रै भारतमा विदेशी मुद्रा सञ्चिति पाँच अर्ब डलर घटेर पाँच खर्ब ८८ अर्ब डलरमा सीमित भएको छ। यो सञ्चिति १४ महिनायताकै कम भएको बताइएको छ।
भारतको व्यापार घाटा पनि गत मेमा हालसम्मकै उच्च, २४ अर्ब डलर पुगेको थियो। एक वर्षयता भारतबाट वैदेशिक लगानीकर्ताहरूले ३२ अर्ब डलर बराबरको लगानी रकम फिर्ता लगिसकेका छन्।
भारतीय मुद्रामा भइरहेको अवमूल्यनले नेपाली मुद्रामा दबाब बढ्दै गएको छ।
बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको लागि सटही दर एक सय २७ रूपैयाँ ७२ पैसा तोकेको थियो। बिहीबार मध्याह्नसम्म भारू थप घट्न थाल्यो। योसँगै शुक्रबार नेपालीले एक डलरका लागि बिहीबारको भन्दा बढी रूपैयाँ तिर्नुपर्ने देखिन्छ।
विगत ६ महिनामा डलरको भाउ करिब आठ रूपैयाँसम्म वृद्धि भइसकेको छ।
भारतको केन्द्रीय बैंकले केही दिनअघि विदेशी मुद्रा सञ्चितिको दबाब कम गर्न अन्तरदेशीय व्यापारमा भारतीय मुद्रा नै प्रयोग गर्ने सूचना जारी गरेको छ। यस्तो मुद्रामा व्यापार गरिने मुलुकहरूको सूची सार्वजनिक गरिएको छैन।
नेपालको करिब ६०/७० प्रतिशत व्यापार भारतसँग छ। हाल नेपालले भारू र डलर दुवै माध्यममा भारतसँग व्यापार गर्दै आएको छ। नेपालसँग भारतीय मुद्राको खासै सञ्चिति नभएकाले डलर बिक्री गरेरै भारू किनिन्छ।
गत जेठसम्म राष्ट्र बैंकले चार अर्ब ३० करोड डलर बिक्री गरेर तीन खर्ब ३१ अर्ब भारू किनेको थियो।
नेपालले भारतबाट डलरमा किन्नु पर्ने वस्तुहरूको सूची पनि लम्बिँदो छ। तर भारतको पछिल्लो कदमले नेपाललाई ठूलो प्रभाव भने नपर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
‘हाम्रा लागि भारू र डलर समान हैसियतमा भएकाले भारतको पछिल्लो निर्णयले खासै ठूलो फरक पर्ने सम्भावना कम छ,’ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बताए।
हाल नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिमा भारूको हिस्सा करिब २५ प्रतिशत बराबर छ। पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा दबाब परेको अवस्थामा डलरको तुलनामा भारू कमजोर बन्दै जाँदा आयातका लागि खर्चिने रकममा वृद्धि हुनेछ। त्यस्तै बढ्दो डलर लागतले नेपालमा मूल्य वृद्धिमा पनि दबाब पर्नेछ। विदेशबाट रेमिटेन्स पठाउनेलाई बढेको विनिमय दरको कारण अहिले फाइदा हुनेछ।