घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले ७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा निष्काशन गर्ने भएको हो।
कम्पनीले आइपिओ निष्काशन गर्नका लागि बिक्री प्रवर्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्ट इन्डस्ट्रीको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन्।
वि.सं २०६४ सालमा दर्ता भई वि.सं २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरी व्यवसायिक उत्पादन सुरू गरेको घोराही सिमेन्ट इन्डस्ट्रीले हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।
हाल कम्पनीले सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।