गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको निक्षेपमा १०.४४ प्रतिशतको वृद्धि हुँदा कर्जा लगानी भने १४.३९ प्रतिशतले बढेको छ।
हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ मा ४१ खर्ब १२ अर्ब निक्षेप संकलन गरेकोमा आर्थिक वर्ष २०७८/७९ मा भने ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका हुन्।
अघिल्लो पटक ३६ खर्ब ४९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूले ४१ खर्ब ७४ अर्ब कर्जा लगानी गरेका हुन्।
सबैभन्दा धेरैले निक्षेप र कर्जा लगानी बढाउनेमा नबिल बैंक देखिए पनि नेपाल बंगलादेश बैंकसँगको मर्जरका कारण यस्तो वृद्धि देखिएको हो। नबिल बैंकको कर्जा लगानी ५०.२८ प्रतिशतले र निक्षेप ४४.५४ प्रतिशतले बढेको छ। बैंकले तीन खर्ब २९ अर्ब निक्षेप संकलन र तीन खर्ब नौं अर्ब कर्जा लगानी गरेको छ।
त्यसपछि निक्षेप र कर्जा सबैभन्दा धेरैले बढ्नेमा एनसिसी बैंक छ। बैंकको निक्षेप करिब २८ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ भने कर्जा पनि सोही दरमा बढेर एक खर्ब २६ अर्ब पुगेको हो।
रकमको आधारमा भने नबिलपछि सबैभन्दा धेरै निक्षेप एनआइसी एशिया बैंकको छ। बैंकको निक्षेप १.७६ प्रतिशतले घटेपनि दुई खर्ब ९४ अर्ब छ।
यसअघि बैंकको निक्षेप तीन खर्ब थियो। त्यस्तै, कर्जा लगानीमा नबिलपछि एनआइसी एशिया नै छ। बैंकको १.२८ प्रतिशतले कर्जा लगानी बढेर दुई खर्ब ६८ अर्ब पुगेको छ।
बैंकले गत आर्थिक वर्षको मध्यमा कर्जा थप बढाएको भएपनि असार मसान्तसम्म आइपुग्दा घटेको देखिन्छ। यसअघि सो बैंकले दुई खर्ब ७८ अर्बसम्म कर्जा लगानी पुर्याएको थियो।
