मंगलबार नेप्से परिसूचक १६.२७ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.८० प्रतिशतले बढेर २०४५.६९ बिन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २१३ वटा धितोपत्र तथा ऋणपत्रको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
मंगलबार इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ८.०१ प्रतिशतले बढेर ८३६ मा कारोबार भएको छ। त्यस्तै, गणपति लघुवित्तको सेयर मूल्य ६.९४ प्रतितशले बढेर अन्तिम मूल्य ९८० कायम भएको छ।
आज मूल्य सर्वाधिक घट्नेमा सिभिल बैंक र ग्लोबल आइएमई बैंकको ऋणपत्रको रहेको छ। सिभिल बैंकको मूल्य ७.७५ र ग्लोबल आइएमई बैंकको मूल्य ५.७० प्रतिशतले घटेको हो।
यस दिन सर्वाधिक सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद- बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ कायम भएको छ। कम्पनीले हालसम्मकै उच्च लाभांश दिने हल्ला चलेसँगै सर्वाधिक सेयर खरिद-बिक्री भएको हो। उक्त कुराको पुष्टि भने कम्पनीले गरेको छैन।
सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा एभरेष्ट बैंक रहेको छ। यस दिन उक्त कम्पनीको १० करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो। मंगलबार वित्त समूहको परिसूचक सबैभन्दा बढी २.७ प्रतिशतले बढेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक १.८५ प्रतिशतले बढेको हो।