साउन १ गतेसम्म १७ वटा बीमा कम्पनीहरूले बीमा समितिबाट मर्जरमा जान प्रारम्भिक स्वीकृति पाएका छन्।
बीमा समितिले २०७९ चैतसम्म जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ।
तोकिएको चुक्ता पुँजी पुर्याउने उद्देश्यले १७ कम्पनीले बीमा समितिबाट प्रारम्भिक सहमति पाएका छन्। प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स यसरी प्रारम्भिक स्वीकृति पाएर एक आपसमा मर्जरमा जान लागेका छन्।
सूर्या लाइफ र ज्योति लाइफ, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इस्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इस्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, महालक्ष्मी लाइफ र प्रभु लाइफ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जान लागेका हुन्।
मर्जरमा जान लागेका प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब आठ करोड र युनियन लाईफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ।
यी कम्पनी एक बराबर एक अनुपातमै मर्जर भएमा बन्ने कम्पनीको चुक्ता पुँजी सात अर्ब रूपैयाँ पुग्नेछ। जीवन बीमा कम्पनीहरूमध्ये पुँजीको आधारमा यो कम्पनी दोस्रो ठूलो कम्पनी हुनेछ। हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै आठ अर्ब २० करोड चुक्ता पुँजी छ।
सूर्या लाइफ र ज्योति लाइफको चुक्ता पुँजी क्रमशः दुई अर्ब ५५ करोड र दुई अर्ब ४२ करोड रूपैयाँ छ। बराबरी हुनेगरी मर्जर भएमा चुक्ता पुँजी चार अर्ब ९७ करोड रूपैयाँ हुनेछ।
मर्जरमा जाने तयारीमा रहेका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी क्रमशः एक अर्ब २८ करोड ८० लाख रूपैयाँ र एक अर्ब २२ करोड ७६ लाख रूपैयाँ छ। यी कम्पनी एक बराबर एक अनुपातमा मर्जरमा जान लागेका छन्। यसो भएमा मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ।
रिलायन्स लाइफ र सानिमा लाइफको मर्जर सम्पन्न भएमा चुक्ता पुँजी करिब दुई अर्ब १८ करोड रूपैयाँ पुग्नेछ। रिलायन्स लाइफको हाल दुई अर्ब १० करोड र सानिमा लाइफको दुई अर्ब आठ करोड रूपैयाँ चुक्ता पुँजी छ। यी कम्पनीहरूबीच एक बराबर एक अनुपातमा मर्जर हुने सम्झौता भएको छ।
सगरमाथाको एक सय कित्ता सेयर बराबर लुम्बिनी जनरल इन्स्योरेन्सको ८० कित्ता हुनेगरी मर्जरमा जाने सहमति भएको हो।हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख रूपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३१ करोड २७ लाख रूपैयाँ छ। मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रूपैयाँ पुग्नेछ।
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच पनि एक बराबर एक अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। हाल सानिमा र जनरल इन्स्योरेन्स दुवैको चुक्ता पुँजी एक-एक अर्ब रूपैयाँ छ। मर्जर पश्चात् बन्ने कम्पनीको पुँजी दुई अर्ब रूपैयाँ पुग्नेछ। यो कम्पनीले थप ५० करोड रूपैयाँले पुँजी थप्नुपर्ने हुन्छ।
महालक्ष्मी लाइफ र प्रभु लाइफमा महालक्ष्मी लाइफले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन। महालक्ष्मीको हाल दुई अर्ब १० करोड चुक्ता पुँजी छ भने प्रभु लाइफको दुई अर्ब चुक्ता पुँजी पुगेको छ। यी दुईको मर्जर पछि चुक्ता पुँजी चार अर्ब १० करोड पुग्नेछ।
प्रभु इन्स्योरेन्सको एक सय सेयर बराबर अजोड इन्स्योरेन्सको ८० कित्ता हुनेगरि मर्जर सम्झौता भइसकेको छ। हाल प्रभुको एक अर्ब २८ करोड र अजोडको एक अर्ब रूपैयाँ चुक्ता पुँजी छ। मर्जरपश्चात् बन्ने कम्पनीको पुँजी दुई अर्ब आठ करोड रूपैयाँ हुनेछ।
चुक्ता पुँजी वृद्धिको निर्देशनपछि एक जोडी कम्पनी मर्जरपश्चात् सञ्चालनमा आइसकेको छ। हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरपश्चात साउन १ गतेबाट एकीकृत कारोबार गरिसकेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट यो कम्पनी सञ्चालनमा आएको हो।