यो एक वर्षमा सेयर बजारबाट लगानीकर्ताहरूले झन्डै एक खर्ब रूपैयाँ आम्दानी गरेका छन्।
आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत लगानीकर्ताले सेयर किनबेचबाट ९४ अर्ब १२ करोड रूपैयाँ आम्दानी गरेका हुन्।
व्यक्तिगत लगानीकर्ता सेयर किनेर सोही वर्षमा बिक्री गर्दा लाभ भएमा वर्षिक ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्छ। एक वर्ष कटाएर बिक्री गर्दा भने पाँच प्रतिशत मात्र तिर्दा हुन्छ।
त्यस्तै संस्थागत लगानीकर्ताले भने जुनसुकै अवस्थामा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गरेर सरकारलाई सात अर्ब १२ करोड रूपैयाँ पुँजीगत लाभकर पनि तिरेका छन्। ७.५ प्रतिशत लाभकर तिर्ने यी लगानीकर्ताहरूले बजारबाट ९४ अर्ब १३ करोड रूपैयाँ कमाएको देखिन्छ।
संस्थागत लगानीकर्ता र एक वर्षभन्दा बढी अवधिसम्म सेयर राखेर बिक्री गर्ने दीर्घकालिन लगानीकर्ताले भने तीन अर्ब २३ करोड बराबर पुँजीगत लाभकर तिरेका छन्।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल दस अर्ब ३५ करोड ३० लाख रूपैयाँ लाभकर पाएको हो। यो भनेको अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा कम लाभकर हो। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ अर्ब १३ करोड ६१ लाख रूपैयाँ पुँजीगत लाभकर पाएको थियो।
सरकारको लाभकरबाट हुने कमाइ करिब २७ प्रतिशत (तीन अर्ब ७८ करोड रूपैयाँ) ले कम हो।
सेयर बजारका लगानीकर्ताहरूको कागजी सम्पत्तिमा भने गत आर्थिक वर्षभन्दा १६ खर्ब रूपैयाँ कमी आएको छ। यस्तो नोक्सान वास्तविक नोक्सान नै भने होइन। कारोबारमा हुने नोक्सान मात्रै वास्तविक नोक्सान हुन्छ। लगानीकर्ताहरूले यसरी सम्पत्तिमा हुने क्षयको कारण विभिन्न दबाब भने खेप्नु पर्छ।
बैंकमा सेयर धितो राखेर कर्जा लिएकाहरूलाई यस्तो दबाब अझ धेरै हुन्छ। सेयर मूल्यमा भएको गिरावटको आधारमा उनीहरूले धितो थप्दै जानुपर्ने वा त सेयर बिक्री गरेर कर्जा चुक्ता गर्नुपर्ने हुन्छ।
२०७८ भदौ २ मा सेयर बजार पुँजीकरण हालसम्मकै उच्च भएको थियो। सो दिन बजारमा रहेका सेयरहरूको मूल्य ४४ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको थियो।
असार अन्त्यमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रूपैयाँमा सीमित भएको छ। असार अन्त्यसम्म आइपुग्दा लगानीकर्ताहरूको सम्पत्ति करिब १६ खर्ब रूपैयाँले क्षय भएको हो।