सेयर बजारका लगानीकर्ताहरूले गत आर्थिक वर्षमा सेयर बेचेर करिब एक खर्ब रूपैयाँ आम्दानी गरेका छन्। यही समयमा सरकारले दस अर्बभन्दा बढी कर प्राप्त गर्यो।
यो तथ्यांकमा लगानीकर्ताहरूलाई भएको नोक्सानको भने गणना भएको हुँदैन।
तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षको भदौ २ गते नेप्से उच्च तहमा पुगेको थियो। त्यो दिन बजार पुँजीकरण हालसम्मकै उच्च, ४४ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको थियो। यो भनेको लगानीकर्ताहरूको बढेको सम्पत्ति हो।
असार अन्त्यसम्म आइपुग्दा भने बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रूपैयाँमा सीमित भयो।
यस हिसाबले लगानीकर्ताहरूलाई झन्डै १६ खर्ब नोक्सान भयो। तर यो कागजी घाटा हो।
४४ खर्बबाट बजार पुँजीकरण झरेर २८ खर्बमा आइपुग्दा पनि बजारमा कारोबार भने रोकिएको थिएन। धेरैले बिक्रीमा नोक्सान पनि बेहोरेको अवस्था थियो। तर लगानीकर्ताहरूले यस्तो नोक्सान करमा समायोजन गर्न पाएनन्।
उनीहरूले आफ्नो आम्दानीकै हिसाबमा कर बुझाउनु पर्छ। नोक्सान करमा समायोजन गर्न नपाएकोमा केही लगानीकर्ता आक्रोशित पनि छन्।
'कुनै पनि संस्थाहरूले व्यवसाय गर्दा नाफा भएमा मात्रै कर तिर्नु पर्छ,' एक लगानीकर्ताले भने, 'तर, लगानीकर्ताहरूले भने सेयर कारोबारमा हुने नोक्सानको कहिल्यै समायोजन गर्न पाउने अवस्था बन्दैन।'
लगानीकर्ताहरूले संस्थासँग तुलना गरे पनि उनीहरूले तिर्ने र संस्थाले तिर्ने करमा धेरै अन्तर छ।
कुनै पनि संस्थाले आफूले गर्ने व्यवसायमा भएको नाफामा उच्चदरमा कर तिर्नु पर्छ। संस्थाहरूले आफ्नो नाफाको वार्षिक २५ प्रतिशत हाराहारी कर तिर्नु पर्छ।
सेयर लगानीकर्ताहरूलाई भने करको दर ज्यादै कम छ।
अहिले व्यक्तिगत लगानीकर्ताले किनेको सेयर तीन सय ६५ दिनभन्दा कम अवधिमा (एक वर्षभित्र) बेच्दा जम्मा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्छन्। एक वर्ष कटाएर सेयर बेच्दा पाँच प्रतिशत मात्र तिरे पुग्छ।
संस्थागत लगानीकर्ताले भने सेयर कारोबारबाट हुने नाफामा १० प्रतिशत लाभकर तिर्नु पर्छ।
संस्थाहरूको हकमा सेयर लगानीकर्ताको करको दर नै कम भएकाले नोक्सानलाई समायोजन गर्नु उपयुक्त माग नभएको सेयर विश्लेषकहरू नै बताउँछन्।
'लगानीकर्ताहरूले बुझेकै छैनन्,' एक सेयर विश्लेषकले भने, 'नोक्सानको समायोजन गर्ने पाउने हो भने पक्कै पनि यस्तो लाभकर अहिले जस्तो कम हुने छैन। नोक्सान समायोजन नहुने भएकैले लगानीकर्ताले तिर्न करको दर कम छ।'
केही वर्षअघिदेखि लगानीकर्ताहरूले किनेको सेयरको औसत लागत निकालेर सेयर बिक्रीको क्रममा नाफा हुँदा सो लागत घटाएर बाँकी रकममा मात्रै कर तिर्न मिल्ने व्यवस्था गरिएको छ। यसले पनि तिर्नुपर्ने कर रकममा तात्विक फरक आउने देखिँदैन।
त्यसैले लगानीकर्ताले भनेजस्तो नोक्सान समायोजन हुने अवस्था भने बनेको देखिँदैन।
करका विषयमा लगानीकर्ताहरूले बेलाबेलामा विभिन्न माग राख्दै आएका छन्। कतिपय मागमा उनीहरूको बुझाइ प्रस्ट भएको देखिँदैन।
उदाहरणका लागि केही समयअघि कतिपयले कारोबार कर लगाउनु पर्ने माग समेत राखेका थिए। यस्तो कर हरेक पटकको कारोबारमा तिर्नुपर्ने हुन्छ। यसले कारोबारमा पनि कर तिर्नुपर्ने र नाफा भएमा लाभकर समेत तिर्नुपर्ने अवस्था आउँछ। यो अवस्था बुझेसँगै लगानीकर्ताहरू पछिल्लो समय यो मागमा मौन रहन थाले।
छिमेकी देश भारतको उदाहरण हेर्ने हो भने सन् २०१८ यता त्यहाँ विभिन्न तरिकाले सेयर कारोबारमा कर लगाइने गरेको पाइन्छ। त्यहाँ पनि अल्पकालीन र दीर्घकालीन लाभकर भने कारोबार अवधिको आधारमा लगाइने गरिएको छ।
अल्पकालीन रूपमा गरिएको कारोबारमा नाफा भएमा १५ प्रतिशत कर तिर्नु पर्छ। एक वर्षभन्दा बढी अवधि राखेर गरिने बिक्रीलाई दीर्घकालीन लाभकर भनिएको छ। दीर्घकालीन लाभकरमा वार्षिक एक लाख भारूसम्म नाफा हुँदा कुनै कर तिर्नु पर्दैन। एक लाख भारूभन्दा बढी नाफा भएमा त्यसमा दस प्रतिशतको दरमा कर तिर्नु पर्छ।
भारतमा एकै दिनभित्र एउटै सेयर पटक पटक किनबेच हुने व्यवस्था समेत छ। यस्तो कारोबारलाई 'इन्ट्रा-डे ट्रेडिङ' भनिन्छ। यस्तो कारोबारलाई व्यावसायिक आम्दानी (बिजनेस इनकम) मानेर अलगअलग दरमा कर तिर्नु पर्छ। अल्पकालीन र दीर्घकालीन कारोबारमा हुने नोक्सान रकमलाई भने त्यहाँ समायोजन गर्न दिइएको छ।
उदाहरणका लागि, भारतमा कसैले एक वर्षभित्रै सेयर बेचेर एक लाख कमायो र त्यसमा १५ प्रतिशत कर लागे करबापतको रकम १५ हजार भारू हुन आउँछ। अब सोही व्यक्तिसँग अन्य सेयर पनि छ र त्यसमा लगभग ८० हजार नोक्सान छ। नोक्सानमै ती सेयर बिक्री गर्नुपर्ने अवस्था आयो र ८० हजार नोक्सान भयो।
अब उसले अघि भएको नाफा एक लाख भारूबाट यो ८० हजारको नोक्सान घटाउन पाउँछ। यसरी घटाएर हुने बाँकी रकम २० हजार भारूमा मात्रै अब उसले १५ प्रतिशतको दरमा लाभकर तिर्नु पर्छ। नाफामा बाँकी २० हजार भारूमा उसले अब तीन हजार मात्र कर तिरे हुन्छ।
यसरी लगभग उसले अघि तिर्नुपर्ने १५ हजार भारूमा अब तीन हजार घटाउँदा उसले १२ हजार कर समायोजन गर्न पाउँछ। अर्थात् १२ हजार भारू बराबरको कर तिर्नु पर्दैन।
त्यहाँ अल्पकालीन कारोबारको क्रममा भएको नोक्सान समायोजन हुन नसकेको अवस्थामा आठ वर्षपछिसम्म यसको समायोजन गर्न पाइने सुविधा पनि दिइएको छ। अल्पकालीन कारोबारका क्रममा भएको नोक्सान पछि अल्पकालीन वा दीर्घकालीन जुनसुकै कारोबारबाट प्राप्त भएको लाभवापत हुने करमा समयोजन गर्न पाइन्छ।
तर दीर्घकालीन कारोबारमा भएको नोक्सानको समायोजन, पछि गरिने दीर्घकालीन प्रकृतिको कारोबारमा नाफा हुँदा हुने करमा मात्रै गर्न पाइने व्यवस्था छ।