मेगा बैंक नेपाल लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ।
मेगा बैंक १३ वर्ष अगाडि १२ सय १९ जना संस्थापक सेयर धनीहरूको लगानीमा १४ जना संस्थापकहरू र ४ जनाको रणनीतिक टोलीसँगै स्थापना भएको हो।
१२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन ठूलो भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
यससँगै उनले उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रवर्द्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्ने बताए। अध्यक्ष शाहले साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तर्गत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरूमा डिफिड-सक्षम, युएसएड-निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरूमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पुर्याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तिकरण महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताइन्।
बैंकका अनुसार विगत १२ वर्षमा बैंकको पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा वृहत वृद्धि भएको छ। देशको २८ औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा रहेको बैंकले जनाएको छ।
२०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ। बैंकले हाल नेपालको ६१ जिल्लामा फैलिएको आफ्नो २ सय ८ शाखा सञ्जाल, एक सय ४५ वटा एटिएम, २५ वटा एक्टेन्सन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।
वार्षिकोत्सवका अवसरमा समता अस्पताललाई पाँच लाख सहयोग
बैंकले १२ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।