राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक देखिएपछि बजारले वृद्धिको बाटो समातेको छ।
मैद्रिक नीतिमा अब लगानीकर्ताहरूले एउटै बैंकबाट १२ करोडसम्म कर्जा पाउन सक्ने व्यवस्था गरेपछि बजार बढेको देखिन्छ।
यसअघि राष्ट्र बैंकले एउटा बैंकबाट ग्राहकले अधिकतम ४ करोड र सबै बैंक तथा वित्तीय संस्था गरेर अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिबाट साना लगानीलाई प्रवर्द्धन समेत गरेको छ। अब २५ लाखसम्मको सेयर धितो कर्जालाई बैंकहरूले शत प्रतिशत र सोभन्दा माथिको कर्जालाई १५० प्रतिशत जोखिम प्रावधान राख्नुपर्ने व्यवस्था गरेको छ।
यो नीतिले ठूलाको तुलनामा साना लगानीकर्तालाई कर्जा जारी गर्ने प्रवृत्ति बढ्ने अपेक्षा गरिएको छ।
आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ३.०३ प्रतिशतले बढेर २०७८.५१ बिन्दुमा पुगेर बन्द भएको छ।
आइतबार कारोबारमा आएका २१९ वटा धितोपत्र तथा ऋणपत्रको दुई अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
आइतबार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पस फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ। उक्त तीनवटै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेको छ।
सेन्ट्रल फाइनान्सको सेयर मूल्य ३६८ रुपैयाँ, समृद्धि फाइनान्सको सेयर मूल्य २४७ रुपैयाँ र मल्टिपर्पस फाइनान्सको सेयर मूल्य २७६ रुपैयाँ कायम भएको छ।
आइतबार मूल्य सर्वाधिक घट्नेमा एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको ऋणपत्र रहेको छ। एनएमबि बैंकको ऋणपत्रको मूल्य १.५२ प्रतिशत र ग्लोबल आइएमई बैंकको ऋणपत्र १.०६ प्रतिशतले घटेको छ। एनएमबि बैंकको ऋणपत्रको मूल्य ९०० रुपैयाँ र ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य ९३५ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८९ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६० रुपैयाँमा ६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
आइतबार वित्त समूहको परिसूचक सर्वाधिक ७.२२ प्रतिशतले बढेको छ। त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक ६.९३ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक ५.१ प्रतिशत, व्यापार समूहको परिसूचक ४.४४ प्रतिशत र लघुवित्त समूहको परिसूचक ३.९१ प्रतिशतले बढेको हो।