भुवन दाहाल बैंकिङ क्षेत्रमा चिरपरिचित नाम हो।
नबिल बैंकबाट बैंकिङ करिअर सुरू गरेका उनले ३० वर्ष यही क्षेत्रमा बिताए। पछिल्लो समय सानिमा बैंकको सिइओ रहेका उनले केही समयअघि मात्र अवकाश लिएका हुन्।
२०२८ सालमा सिन्धुलीको भिमानमा जन्मिएका दाहालले आफ्नो दैनिक जागिरबाट ५० वर्षमै अवकाश लिएका हुन्। करिअर चाँडै सुरू गर्नु पर्छ र अवकाश पनि चाँडै लिनु पर्छ भन्ने मान्यता राख्ने उनले हालै किताब पनि लेखेका छन्- रिटायरमेन्ट एट फिफ्टी (Retirement @50)।
यो किताबमा उनले बैंकिङ करिअरसँगै यो क्षेत्रका विशेषता, अभ्यास, समस्या र अगाडि बढाउन गर्न सकिने उपायहरूबारे लेखेका छन्। एक बैंकरले चुनौतीहरू सामना गर्दै कसरी सफलता हासिल गर्न सक्छ र कसरी सम्मानजनक बहिर्गमन पाउन सक्छ भन्ने झलक पनि 'रिटायरमेन्ट एट फिफ्टी' मा उनले दिएका छन्।
आज हामीले उनीसँग यही किताब र उनले देखे-बुझेको बैंकिङ क्षेत्रबारे कुराकानी गरेका छौं। यो भिडिओ कुराकानी बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धिको नीति पछि परेको दबाब, बैंक सञ्चालक र सिइओबीचको तनाव, बैंकहरूको अर्थतन्त्रको संरचना परिवर्तनमा भूमिका र हालै सार्वजनिक मौद्रिक नीतिमा पनि केन्द्रित छ।
यो कुराकानीका मुख्य बुँदाहरूः
- बैंकमा सधैं १०-१२ प्रतिशत र अन्य क्षेत्रमा २०-२५ प्रतिशतभन्दा बढी प्रतिफल हुन्छ भने यो क्षेत्रमा लगानीकर्ता किन बस्ने? त्यसैले राष्ट्र बैंकले यसमा केही नीतिगत सुविधा दिनुपर्छ।
- सानिमा बैंक विगत आठ वर्षमा पहिलो नम्बरको बैंक बन्छ होला भन्ने मैले पनि कल्पना गरेको थिइनँ।
- आठ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत र तल्लो तहमा कार्यरत कर्मचारीको तलब अन्तर ५८ गुणा थियो। अहिले २९ गुणामा झरेको छ। प्रमुखको तलबको तुलनामा कर्मचारीको वृद्धिदर धेरै गरेका छौं। अहिले सानिमा बैंकमा कर्मचारीले पनि राम्रो तलब पाएका छन्, सञ्चालकहरूले राम्रो प्रतिफल पाएका छन्। साना निक्षेपकर्ताले पनि राम्रो ब्याजदर पाएका छन्।
- बैंकिङ क्षेत्रमा सञ्चालकहरूबाट प्रतिफलका लागि मात्र दबाब आउँदैन, अव्यवसायिक कामहरू गरिदिन पनि दबाब आउँछ। यस कारण पनि सञ्चालक र बैंकरहरूबीच विवाद उब्जिरहन्छ।
- कतिपय भिआइपी सेयर लगानीकर्ताहरूलाई खाममा रकम नदिँदा समेत सानिमा बैंकप्रति उहाँहरू रूष्ट हुनु हुन्छ। यही कारण साधारण सभामा उहाँहरूले आलोचना गर्ने परिपाटी छ।
- म मौद्रिक नीतिको कारणले मात्रै अहिले ब्याजदर बढ्नु पर्ने कारण देख्दिनँ। साउनपछि हाल बैंकहरूले पाइरहेको पुँजी हट्छ कि भन्ने जुन डर थियो, त्यो मौद्रिक नीतिमा नआएकाले ब्याजदर बढ्दैन।
हेर्नुहोस् सेतोपाटीका विजयराज खनालले दाहालसँग गरेको भिडिओ कुराकानीः