नेप्से परिसूचक बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ।
सोमबार नेप्से परिसूचक ५४.४५ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक २.६२ प्रतिशतले बढेर २,१३२.९६ बिन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २१४ वटा धितोपत्र तथा ऋणपत्रको चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
मौद्रिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक देखिएपछि बजारले वृद्धिको बाटो समातेको छ। आइतबारको तुलनामा सोमाबार कारोबार रकम पनि बढेको छ। आइतबार दुई अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
सोमबार नारायणी विकास बैंक, मल्टीपर्पस फाइनान्स, सूर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
आज मूल्य सर्वाधिक घट्नेमा मञ्जुश्री फाइनान्स र कुमारी बैंकको ऋणपत्र रहेको छ। मञ्जुश्री फाइनान्सको ऋणपत्रको मूल्य ५.८७ प्रतिशत र कुमारी बैंकको ऋणपत्र ३.९० प्रतिशतले घटेको हो। मञ्जुश्री फाइनान्सको ऋणपत्रको मूल्य ८८४ रुपैयाँ र कुमारी बैंकको ऋणपत्रको मूल्य ९१० रुपैयाँ कायम छ।
यस दिन सर्वाधिक सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.२१ ले बढेको हो।
सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा अरुण कावेली पावर रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५०० रुपैयाँमा १४ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
सोमबार वित्त समूहको परिसूचक सर्वाधिक ७.९ प्रतिशतले बढेको छ। त्यस्तै, दोस्रोमा विकास बैंक समूहको परिसूचक ५.८४ प्रतिशतले बढेको छ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक ४.५ प्रतिशत, लघुवित्त समूहको परिसूचक ३.९९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.२२ प्रतिशतले बढेको हो।