बैंकहरूले राष्ट्र बैंकबाटै १४ प्रतिशतसम्म ब्याजदर पाएका छन्। राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।
'हाम्रो उद्देश्य कर्जा लगानी घटाउने नै हो। त्यसैले आयातमा भइरहेको वृद्धि रोक्न केही लागत त पर्छ नै,' राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले भने।
हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति पनि लगानी गर्न सक्छन्।
गत वर्ष पनि धेरै बैंकहरूले तरलता उच्च हुँदा ऋणपत्रमा रकम राख्ने गरेका थिए। यसले तरलता अभावको समयमा बैंकहरूलाई भने थप समस्या परेको थियो। बैंकहरूले लगानी गर्ने यस्तो ऋणपत्रको अवधि २८ देखि ३ सय ६४ दिनसम्मको पनि हुन्छ।
बैंकहरूले कायम गर्नुपर्ने तरलता अनुपात २० प्रतिशतभन्दा पनि बढी लगानी यस्ता ऋणपत्रमा गरेकाहरूलाई भने ऋणपत्रको अवधि परिपक्व हुनुभन्दा अघि तरलता समस्या पर्दा थप दबाब परेको थियो। त्यतिखेर यस्तो ट्रेजरी बिल्सको ब्याजदर भन्दा राष्ट्र बैंकबाट लिने सापटी दर बढी रहेकोले पनि दबाब परेको थियो।
बैंकहरूले तरलता अनुपात कायम गर्न राख्नुपर्ने निक्षेप र पुँजीको २० प्रतिशत बराबर रकममा चार प्रतिशत बराबर अनिवार्य नगद मौज्दात राखेपछि बाँकी यस्तै ऋणपत्रहरू खरिद गरेर तरलता कायम गरिएको हुन्छ।
कतिपय बैंकहरूले भने कर्जा लगानी नै कम गरेर पनि यस्ता ऋणपत्रमा समेत लगानी गर्ने गरेका छन्। तरलता उच्च हुँदा यस्ता ऋणपत्रमा बैंकहरूले लगानी बढाउने र तरलता संकटको समयमा ती बैंकहरूले तरलता समस्यामा रहेका अन्य बैंकहरूलाई समेत यस्तो ट्रेजरी बिल्स बिक्री गर्न सक्छन्।
अहिले राष्ट्र बैंकमा उच्च ब्याजदर पाउने गरेर ट्रेजरी बिल्समा लगानी गर्न पाएका बैंकहरूले भविष्यमा समस्या परे यही बिल्सको धितोमा राष्ट्र बैंकबाट सापटी लिन परेमा कम ब्याज तिरे हुने अवस्था छ।
मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंकहरूलाई पुँजी समस्या परेमा दिइने स्याथी तरलता सुविधाको ब्याजदर ८.५ प्रतिशत पुर्याइएको छ। यसरी स्थायी तरलता सुविधा लिनुपरेमा पनि बैंकहरूलाई ट्रेजरी बिल्सको ब्याज अन्तरबाट ५.४९ प्रतिशत लाभ नै हुने अवस्था छ। स्थायी तरलता सुविधाबाट पाँच दिनका लागि मात्र सापट लिन पाउने भए पनि बैंकहरूले यस्तो सापट थपिरहन सक्छन्।
'अब बैंकहरूले कर्जा लगानीमा भन्दा ट्रेजरी बिल्समै लगानी बढाउने सम्भावना छ,' पूर्व बैंकर भुवन दहालले भने, 'अब बैंकहरूले निक्षेप र कर्जाको ब्याज अन्तर बढाइदिन यसअघि राष्ट्र बैंकलाई दिइरहेको दबाब पनि कम हुने देखिन्छ।'
राष्ट्र बैंकले साउन १० गतेका लागि २८ दिने अवधिको दुई अर्ब बराबरको र ९१ दिने अवधि भएको तीन अर्ब ६० करोड बराबरको ट्रेजरी बिल्स जारी गरेको हो।