नेपाल बैंक र एनसेल एक्सियाटाबीच नेपाल बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई डेटा शुल्क नलाग्ने सम्झौतामा हस्ताक्षर भएको छ।
मंगलबार नेपाल बैंकको प्रधान कार्यालय काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सियाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डेटा निःशुल्क उपलब्ध हुनेछ।
नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरूलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ।
अबदेखि नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने बताइएको छ।
डिजिटल बैंकिङलाई प्रवर्द्धन गरी ग्राहकहरूलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुसी व्यक्त गरे। आगामी दिनहरूमा एनसेल एक्सियाटासँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि व्यक्त गरे।
त्यसैगरी, एनसेल एक्सियाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चोङले नेपालको पहिलो बैंकसँग व्यवसायिक साझेदारी गर्न पाउँदा आफू निकै हर्षित भएको विचार व्यक्त गरे।
हाल नेपाल बैंकले नेपालभर रहेको आफ्नो २१९ शाखा, १८३ एटिएम र ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ।