'नबिल सामाजिक उद्यमशिलता' कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याएर दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ।
कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ।
तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक चुनौतिको समाधानका लागि नबिलले सहयोग गर्ने बताइएको छ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरू गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो।
विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए।
विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो। आवेदनको अन्तिम दिन बैंकले भदौ २० गते तोकेको छ।