राष्ट्र बैंकले मंगलबार दुई वटा अवधिका १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्न लागेको छ।
पाँच अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने अवधिको र पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी विल्स जारी गर्न लागेको हो। यी ऋणपत्रको बोलकबोल सोमबार हुनेछ।
यसअघि राष्ट्र बैंकले जारी गरेको ट्रेजरी विल्समा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
राष्ट्र बैंकले साउन १० गते २८ दिने अवधिको दुई अर्ब बराबरको र ९१ दिने अवधि भएको तीन अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स जारी गरेको थियो।
हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ।
बैंकहरूले तरलता अनुपात कायम गर्न राख्नुपर्ने निक्षेप र पुँजीको २० प्रतिशत बराबर रकममा चार प्रतिशत बराबर अनिवार्य नगद मौज्दात राखेपछि बाँकी यस्तै ऋणपत्रहरू खरिद गरेर तरलता कायम गरिएको हुन्छ।
कतिपय बैंकहरूले भने कर्जा लगानी नै कम गरेर पनि यस्ता ऋणपत्रमा समेत लगानी गर्ने गरेका छन्।
राष्ट्र बैंकले ट्रेजरी विल्समार्फत महँगोमा पैसा उठाउँदा बैंकहरूले स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो मार्फत् कम ब्याजदरमा पुँजी पाइरहेको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ।
बैंकहरूले हाल सात दिनको ८.५ प्रतिशत ब्याजदरमा एसएलएस सुविधा पाइरहेका छन्। त्यस्तै, साउन १२ मा रिपो सुविधा अनुसार बैंकहरूले ३० अर्ब रुपैयाँ औसत ८.३७ प्रतिशत ब्याजमा पाएका थिए।
बैंकहरूले राष्ट्र बैंकबाट ८.३७ देखि ८.५ प्रतिशतमा पैसा लिदै राष्ट्र बैंकमै १४ प्रतिशतसम्ममा पैसा राखिरहेको भन्दै आलोचना भइरहेको हो।