बैंक अफ काठमाण्डू (बिओके) र हिमालयन बैंकले दश वर्षपछि चिनियाँ बैंकसँगको मुद्दा जितेका छन्।
मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेपछि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी बसेका यी दुई नेपाली बैंकले यस्तो रकम फिर्ता पाउने भएका छन्।
मेलम्ची खानेपानी आयोजनाको लागि चिनियाँ ठेकेदारका तर्फबाट अग्रिम भुक्तानी र पर्फर्मेन्स ग्यारेन्टी बसेको रकम चिनियाँ बैंकले नदिएपछि दश वर्षदेखि यी बैंकको करिब पौने दुई अर्ब रूपैयाँ फसेको थियो।
अब भने सबै अदालती प्रक्रिया सकिएकाले आफूहरू रकम पाउनेमा विश्वस्त रहेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए।
'हामी दश वर्षदेखि पटक पटक चीनमै अदालती प्रक्रियामा गयौं,' राणाले भने, 'अब सबै अदालती प्रक्रिया सकिएको छ र यो मुद्दा किनारा लागेको छ।'
दश वर्षअघि मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रूपमा चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सिसिबी) रहेको थियो।
मेलम्ची खानेपानी आयोजनाले चाइना रेलवेसँग ठेक्का तोडेपछि सिसिबीका तर्फबाट दुई नेपाली बैंकले पर्फर्मेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी दिएका थिए।
०६५ चैतमा बिओकेले काउन्टर ग्यारेन्टीका रूपमा १४ लाख युरो र ६६ लाख अमेरिकन डलरको अग्रिम भुक्तानी दिएको थियो ।
हिमालयन बैंकले ६६ लाख डलर पर्फमेन्स ग्यारेन्टी दिएको थियो। चाइना रेलवेले मेलम्चीसँगको ठेक्का ०६९ भदौमा तोडेपछि राष्ट्र बैंकले हिमालयन बैंकबाट सो रकम जफत गरी मेलम्चीलाई भुक्तानी दिएको थियो।