सेयरमा गरेको लगानीबाट गत आर्थिक वर्ष २०७८/७९ अन्त्यमा १३ वटा वाणिज्य बैंकहरूले नोक्सान बेहोरिरहेका छन् भने पाँच वटा नाफामा देखिएका छन्।
चौथो त्रैमास (असारमसान्त) सम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वटा वाणिज्य बैंकमध्ये सात वटाले भने विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
बैंकहरूले त्रैमासिक वित्तीय विवरणमा सेयर बजारमा रहेको लगानीमा कागजी नाफा घाटा (फेयर भ्यालुका आधारमा नाफा नोक्सान) कति छ भनेर देखाउने गर्छन्।
यसरी विस्तृत विवरण सार्वजनिक गर्ने १९ वटा वाणिज्य बैंकमा सबैभन्दा धेरै नोक्सान नेपाल इनभेष्टमेन्ट बैंकको देखिएको छ। यस बैंकको दुई अर्ब २२ करोड रुपैयाँ बराबर नोक्सान देखिएको छ।
लक्ष्मी बैंकको यस्तो नोक्सान सबैभन्दा कम अर्थात् १९ लाख रुपैयाँ देखिएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा एक वर्षभन्दा कम समय सेयर राख्ने गरेर लगानी गर्न पाउँदैनन्। बैंकहरूले खरिद गरेको सेयर एक वर्ष पुगेको अवस्थामा पनि सबै सेयर एकै वर्षभित्रमा बिक्री गर्न पाउँदैनन्।
एक वर्ष होल्ड भइसकेका सेयर बिक्री गर्दा सेमत एक आर्थिक वर्षमा बैंकको आफ्नो प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको सेयर लगानी मात्र बिक्री गर्न सक्नेछन् ।
एक पटकलाई भने राष्ट्र बैंकले ०७८ जेठ १० गतेसम्म लगानी भएका सेयर ०७९ असारभित्र बिक्री गर्दा प्राथमिक पुँजीको एक प्रतिशतको सीमा लागू नहुने व्यवस्था गरेको थियो।
गत वर्ष सेयर बजार उच्च तहमा हुँदा सबैखाले सेयर लगानीकर्ताहरूको सम्पत्ति ४४ खर्ब ६८ अर्ब रूपैयाँ पुग्दा बजार घटेसँगै असारअन्त्यमा भने यस्तो सम्पत्तिको मूल्य २८ खर्ब ६९ अर्बमा सीमित भएको हो।
यसरी बजारमा जस्तै यी बैंकहरूको सेयर सम्पत्ति पनि ६ अर्ब रूपैयाँले ह्रास भएको हो।
वास्तविक सेयर किनबेचबाटै भने बैंक सहितका विभिन्न संस्थागत लगानीकर्तालाई गत असारसम्ममा एक खर्ब ८८ करोड रुपैयाँको नाफा भएको थियो।
१० प्रतिशत पुँजीगत लाभकर लाग्ने यस्ता संस्थागत लगानीकर्ताले सेयर कारोबार बापत एक अर्ब ८८ करोड रुपैयाँ कर नै तिरेका थिए। यस्ता संस्थागत लगानीकर्ताहरू बैंक मात्रै भने होइनन्।
त्यस्तै, बैंकहरूले कुनै एक संस्थाको सेयर, ऋणपत्र वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, ऋणपत्र वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्छन्।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कुनै संगठित संस्थाको सेयर तथा ऋणपत्रमा लगानी गर्दा यसरी लगानी गरिने संस्थाको चुक्ता पुँजीको पनि १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउँछन्।