हिजोआज ठूल्ठूला अफिसका कर्मचारीदेखि विद्यार्थीहरूले समेत सेयरमा पैसा हाल्न थालेका छन्। उनीहरूको अतिरिक्त समय सेयर बजारको उतारचढाव नियाल्नमा बित्छ। दैनिक तलमाथि गर्ने सेयर आँकडाले सर्वसाधारणको मर्निङ वाकदेखि चियागफमा समेत ठाउँ पाउन थालेको छ।
धेरैको ध्यान खिचेको सेयर बजारबाट मान्छेले कमाउन चाहिँ कति कमाइरहेका छन्? कमाएका छन् कि यसै पानीको फोकाझैं उम्लिरहेका मात्र छन्?
यो स्टोरीमा हामी सेयर बजारको आम्दानी आँकडा विश्लेषण गर्दै छौं।
गत आर्थिक वर्ष २०७८/७९ मा ८ लाख ३० हजार ४२ जना व्यक्तिगत लगानीकर्ता र १ हजार ३ सय ९७ वटा संस्थाले सेयर बजारबाट कमाएर पुँजीगत लाभकर तिरे। व्यक्तिगत र संस्थागतमध्ये कसले कति कर तिरे त?
तथ्यांक हेर्दा व्यक्तिगत लगानीकर्ताहरूले ९ अर्ब २६ करोड रूपैयाँ पुँजीगत लाभकर तिरेको देखिन्छ। यति कर तिर्न उनीहरूको कमाइ १ खर्ब ४२ अर्ब रूपैयाँ हुनुपर्छ।
यो तथ्यांक अझै केस्रा पारेर हेर्ने हो भने व्यक्तिगत लगानीकर्तामध्ये १० जनाले तिरेको कर मात्रै २८ करोड छ। यति कर तिर्न यी १० जनाले ४ अर्ब ४२ करोड नाफा गरेको हुनुपर्छ।
यसको मतलब, गत आर्थिक वर्ष ८ लाख ३० हजार ४२ जना व्यक्तिगत लगानीकर्ताले सेयर बजारबाट १ खर्ब ४२ अर्ब नाफा कमाउँदा तिनैमध्ये १० जनाले ४ अर्ब ४२ करोड आर्जन गरेका छन्। यो प्रतिव्यक्ति औसत ४४ करोड हुन आउँछ।
यी १० जनाको नाफा अलग्याएर हेर्ने हो भने बाँकी ८ लाख ३० हजार ३२ जनाले औसत १ लाख ४९ हजार रूपैयाँ कमाएको देखिन्छ।
व्यक्तिगत लगानीकर्ताले सेयर किनेको एक वर्ष नपुग्दै बिक्री गरे ७.५ प्रतिशत र एक वर्षपछि बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। औसतमा ६.५ प्रतिशतका आधारमा हिसाब गर्दा माथि उल्लिखित नतिजा देखिएको हो।
अब कुरा गरौं, संस्थागत लगानीकर्ताको।
गत आर्थिक वर्ष १ हजार ३ सय ९७ वटा संस्थागत लगानीकर्ताले १ अर्ब ८८ करोड रूपैयाँ पुँजीगत लाभकर तिरेका छन्। उनीहरूको नाफा १८ अर्ब ८७ करोड रूपैयाँ हुन आउँछ।
यीमध्ये प्रमुख १० वटा संस्थागत लगानीकर्ताले ४८ करोड कर तिरेका छन्। उनीहरूको नाफा ४ अर्ब ८६ करोड हुन्छ।
यसको मतलब, प्रमुख १० संस्था प्रत्येकले औसत ४८ करोड ६४ लाख कमाउँदा बाँकी संस्थाले औसत १ करोड ३२ लाख मात्रै कमाएका छन्।
यो त भयो कमाइको तथ्यांक। यो तथ्यांक हेर्दा सेयर बजारमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ताको संख्या ठूलो भए पनि कमाइका आधारमा थोरैले बढी प्रतिफल लिइरहेको देखिन्छ।
भनेपछि, सेयर बजारबाट बढी कमाइ गर्ने ती १० प्रमुख व्यक्तिगत र संस्थागत लगानीकर्ता कुन हुन् त?
हामीले यसबारे सेयर बजारसँग सरोकार राख्ने विभिन्न व्यक्तिसँग कुरा गर्यौं।
धेरै कमाइ गर्ने १० ठूला व्यक्तिगत लगानीकर्तामा एकाधबाहेक नयाँ अनुहार भएको उनीहरूको भनाइ छ।
धेरै कमाइ गर्ने १० ठूला संस्थागत लगानीकर्तामा भने केही बैंक, जलविद्युत कम्पनी र लगानी कम्पनीहरू रहेको उनीहरू बताउँछन्।
सेयर बजारमा देखिएको कमाइको यस्तो अन्तर अस्वाभाविक हो त?
होइन।
जसले धेरै पुँजी लगानी गर्छ उसको प्रतिफल धेरै हुन्छ। त्यसरी नै थोरै पुँजी लगानी गर्नेको प्रतिफल थोरै हुन्छ। लगानीका आधारमा प्रतिफलमा अन्तर हुनु सामान्य कुरा हो।
तर नेपाली सेयर बजारको कमाइ लगानीको परिमाणले मात्र निर्धारण गर्दैन।
लगानीकर्ताहरूको वित्तीय पहुँचमा रहेको असमानता, बजारमा हुने खेलोफड्को, नियामक निकायको कमजोरी लगायत कारणले पनि ठूला लगानीकर्ताहरूले नै बढी लाभ लिने अवस्था छ।
'हामीकहाँ ठूला लगानीकर्ताहरू जसको वित्तीय क्षेत्रमा पहुँच छ, उनीहरूले यही क्षेत्रको पैसा लगाएर बिनामिहिनेत अत्यन्तै कम कर तिरेर आफ्नो सम्पत्ति वृद्धि गर्न पाइरहेका छन्,' राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने, 'सरकारले नै यस्ता लगानीकर्ता पुरस्कृत हुने वातावरण बनाएको छ, यसले समाजमा असमानता ल्याउँछ।'
राष्ट्र बैंककै गत जेठसम्मको तथ्यांक हेर्ने हो भने एक करोडभन्दा धेरै रकम कर्जा लिनेले बैंकहरूबाट जारी हुने कुल सेयर धितो कर्जाको ५९ प्रतिशत बराबर कर्जा पाइरहेका छन्।
कुल ८७ अर्ब ५८ करोड रूपैयाँ बराबर सेयर धितो कर्जा जारी भएकोमा एक करोडभन्दा बढी पाउने ऋणीले ५२ अर्ब ५१ करोड पाएका छन्।
त्यस्तै २५ लाख रूपैयाँभन्दा कम कर्जा लिनेले कुल कर्जाको ९.८३ प्रतिशत (एक अर्ब ५१ करोड) मात्र पाइरहेका छन्।
राष्ट्र बैंकले पछिल्लो समय सेयर धितो कर्जामा कडाइ गर्दै प्रतिग्राहक १२ करोडभन्दा बढी यस्तो कर्जा नपाउने व्यवस्था गरेको छ। सानो रकमको कर्जा प्रवाह गर्दा जोखिम भार कम राख्नुपर्ने व्यवस्था गरिएकाले साना लगानीकर्तामा कर्जा जारी गर्न बैंकहरू प्रोत्साहित हुने राष्ट्र बैंकको अनुमान छ।
ठूला सेयर लगानीकर्ताका रूपमा चिनिएका अम्बिका पौडेलले भने बजारले साना र ठूला लगानीकर्ता भनेर विभेद नगर्ने भए पनि अब यो बजार सबैका लागि हो कि होइन भनेर हेर्नुपर्ने बेला आएको बताउँछन्।
'अहिले प्राथमिक सेयर निष्कासन गर्दा साना लगानीकर्ताहरूलाई संरक्षण गर्ने उद्देश्यले बाँडफाँटमा कम्तिमा १० कित्ताको नीति लिइएको छ,' पौडेलले भने, 'यो बजार सबैका लागि हो कि होइन भन्ने निचोड निकाल्नुपर्ने बेला आएको छ।'
सेयर बजारमा करोड मात्र होइन, अर्बौं कमाउनेहरू समेत रहेकाले कमाइभन्दा बजार सबैका लागि हो कि होइन भनेर बहस हुनुपर्ने उनी बताउँछन्। बजारमा हुने खेलोफड्को र बजार प्रभावित गरी फाइदा दिने प्रवृत्ति रोक्न धितोपत्र बोर्डको नियमन सशक्त हुनुपर्ने उनको भनाइ छ।
कतिपय लगानीकर्ता भने संसारभरका बजारमा खेलोफड्को हुने तर सँगसँगै नियमन पनि दरिलो हुने बताउँछन्।
'बजारमा लगानी गर्ने सबैको उद्देश्य कमाउनु नै हो,' एक लगानीकर्ताले भने, 'हरेक बजारमा लगानीकर्ताको उद्देश्य र ध्यान आफ्नो सम्पत्ति बढाउनमै हुन्छ। फरक के हो भने विश्वका अन्य बजारमा नियमन पनि दरिलो हुने गर्छ।'
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाले भने नेपालमा नयाँ कम्पनीहरूले पुँजी संकलनको माध्यमका रूपमा पुँजी बजार विकास हुन नसकेको र सीमित लगानीकर्ताहरूले सीमित कम्पनीमै खेलोफड्को गर्ने गरेको बताए।
बैंकहरूले सेयर बजारमा लगानी गर्न पुँजी उपलब्ध गराउने व्यवस्था हटाएर ब्रोकरहरूमार्फत मात्रै कर्जा लगानीको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।
राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले ब्रोकरहरूबाट मार्जिन कर्जा प्रवाह हुन थालेसँगै सेयर धितो कर्जाका व्यवस्था हटाउने बताएको छ। तर ब्रोकरहरू समेत लगानीयोग्य पुँजी जुटाउन बैंकहरूमै भर परिरहेकाले ब्रोकरमार्फत मार्जिन कर्जा कार्यान्वयनमा आउन सकेको छैन।