बैंकहरूले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका छन्।
यो सहित सात महिनादेखि मुद्धति निक्षेपको ब्याजदर स्थिर रहने भएको हो। बैंकहरूले अन्तिम पटक गत फागुनमा मुद्धति निक्षेपको ब्याजदर बढाएका थिए।
'आइतबारसम्मको तथ्यांक हेर्दा असारयता मात्रै बैंकिङ प्रणालीबाट एक खर्ब २२ अर्ब रूपैयाँ बाहिरी सकेको छ,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले भने, 'त्यसैले निक्षेप बढ्न नसकेको समयमा लागत मात्र बढाउनु हुँदैन भन्ने उद्देश्यले यसमा सहमति गरिएको हो।'
हाल बैंकहरूले मुद्धति निक्षेपमा ११.०३ प्रतिशत दिदैं आएका छन्। रेमिटेन्स खातामा भने १२.०३ प्रतिशतसम्म दिइरहेका छन्।
यसअघि संस्थागत निक्षेपकर्तालाई मुद्धति निक्षेपमाभन्दा बढी ब्याजदर दिइरहेका बैंकहरूले यो दर घटाउन लागेका छन्। संस्थागत निक्षेपकर्ताहरूले अब अधिकतम ९.५३ सम्म ब्याज पाउने भएका छन्।
राष्ट्र बैंकले व्यक्तिगत मुद्धति निक्षेपको तुलनामा दुई प्रतिशत बिन्दुले ब्याजदर घटाउन निर्देशन दिएको थियो।
बैंकहरूले सार्वजनिक सूचना जारी गर्दा ९.०३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्ने भएपनि संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदरमा सार्वजनिक सूचना गरिएकोभन्दा ०.५ प्रतिशत थप गर्न पाउने भएका हुन्।