सिद्धार्थ बैंकले मोबाइल बैंकिङ एपलाई ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’मा स्तरोन्ति (अपग्रेड) गरेको छ ।
यस एपले धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले बताएको छ।
एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको उक्त एप्लिकेशन आर्किटेक्चरमा आधारित रहेको र यसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने बताइएको छ।
बैंकको उक्त एप डिजिटल बैंकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ। यसले ग्राहकलाई उनीहरूको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही पासवर्ड प्रयोग गरेर प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरूबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।
साथै, सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ ।
यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन।
'ग्राहकहरू मोबाइल बैंकिङ प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरूको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ। अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनीकरण गर्नेछ र प्रमाणित ग्राहकहरूले मात्र मोबाइल बैंकिङमार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्' बैंकका एक प्रतिनिधिले भने।
उक्त एप प्ले स्टोर र एप स्टोर दुवैमा डाउनलोडका लागि उपलब्ध रहेको बैंकले बताएको छ।