कर्जा खासै नबढे पनि निक्षेपमा सुधार नहुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नाघेको छ।
असारयता बैंक तथा वित्तीय संस्थाको निक्षेप एक खर्ब आठ अर्बले घटेर ४४ खर्ब ३३ अर्बमा सीमित भएको छ। कर्जा लगानी भने जम्मा दुई अर्बले बढेर ४१ खर्ब ७७ अर्ब पुगेको छ। यो नेपाल बैंकर्स एशोसिएशनले उपलब्ध गराएको ३१ साउनसम्मको तथ्यांक अनुसार हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने गत विहीबारसम्ममा वाणिज्य बैंकबाट थप तीन अर्ब निक्षेप घटेर ४४ खर्ब ३३ अर्बमा सीमित भएको छ। कर्जा लगानी भने ६ अर्बले घटेर ४१ खर्ब ७१ अर्बमा सीमित भएको छ।
निक्षेपमा साउन लागेदेखि लगातार कटौती भइरहेको छ भने कर्जामा सामान्य घटबढ देखिदैँ गएको छ।
बैंकिङ प्रणालीमा पुँजी फर्किन छाडेसँगै बैंकहरूको कर्जा लगानी प्रभावित मात्र भएको छैन, उनीहरूको सिडी रेसियो तेकिएको सीमाभन्दा पार हुन थालेको हो।
राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो सीमा अधिकतम ९० प्रतिशत हुनुपर्छ।
नेपाल बैंकर्स एशोसिएशनले उपलब्ध गराएको तथ्यांक अनुसार सेञ्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल बैंकको यस्तो अनुपात ९० कटेको छ।
ग्लोबल आइएमई, हिमालयन, कुमारी, एनसिसी बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डु, कृषि विकास बैंक लगायतका बैंकहरूको समेत यो सीमा ८९ प्रतिशत कटेर ९० प्रतिशत छुने क्रममा छ।
राष्ट्र बैंकले यस्तो सीमा कटेमा बैंकहरूलाई मासिक औसत कायम कर्जा रकम र ९० प्रतिशतको आधारमा हुनुपर्ने कर्जा रकम घटाएर बैंकहरूले लिइरहेको आधार दरले गणना गरेर हर्जाना लगाउन सक्ने व्यवस्था छ।
