बरुण हाइड्रोपावरले आज (सोमवार) देखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीले निष्कासन गरेको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिइएको छ। यसले कम्पनी वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्छ।
हाल कम्पनीको चुक्तापुँजी २६ करोड ७९ लाख सात हजार रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि उक्त पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।