नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई 'नबिल जेन अल्फा'को ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ।
नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो।
अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने बैंकले बताएको छ।
बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ।
यो प्रोडक्टमार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।
बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ। रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन्।
नौ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ पनि जितेकी छिन् ।
'नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो', बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने।
प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले रेग्मीलाई यो प्रोडक्टको लागि फिट पाएको उनले बताए।