गत असारमसान्त यता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा एक खर्ब १६ अर्ब रुपैयाँले कमी आएको छ।
यसो हुनुमा मुख्य तीन कारण रहेका छन्। सहकारी लगायतले असार अन्त्यमा पैसा राख्ने र साउन तिर झिक्ने प्रवृत्ति, सरकारले खर्च गर्न नसक्नु र आयल निगमको भुक्तानी हुनुले पनि बैंकहरूको निक्षेपमा ठूलो दरमा कटौती देखिएको हो।
'सहकारीहरूले असारतिर बैंकहरूमा रकम राख्ने गर्छन्, यसो गर्दा सहकारीहरूले वार्षिक प्रतिवेदनमा बैंक मौज्दातमा रकम रहेको देखाउन पाउँछन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'यसले सहकारीले आफ्ना लगानीकर्ताहरूलाई आकर्षित गरिरहन सक्छन् भने बैंकहरूलाई समेत निक्षेप स्रोत बढेको देखाउन सजिलो हुन्छ।'
यसरी करिब १५/२० अर्ब रुपैयाँ बराबरको स्रोत सो समय जुर्ने र साउनमा गएपछि भने झिकिने गरेको छ। यसरी सूचकहरू राम्रो देखाउन गरिने चलाखीलाई अर्थजगतमा 'बुक कुकिङ' समेत भनिन्छ। त्यसबाहेक असारमा सरकारको खर्च बढेर पनि निक्षेपमा बढोत्तरी हुने गर्छ।
साउनयता सरकारले खर्च गर्न नसक्दा पनि प्रणालीबाट रकम बाहिरीने तर सरकारी ढुकुटिमै रकम थुप्रिने गरेको छ। भदौ ८ सम्ममा सरकारले राजस्व, अनुदान र अन्यबाट एक खर्ब तीन अर्ब रुपैयाँ प्राप्त गरेको छ भने जम्मा २९ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। करिब ७४ अर्ब रुपैयाँ सरकारी ढुकुटिमा थन्किएको छ।
त्यस्तै, अयाल निगमले पछिल्लो समय भारत आयल कर्पोरेशनलाई केही किस्ताहरु भुक्तानी गरिरहेको छ। यसले पनि करिब साउन यता २०/२२ अर्ब रुपैयाँ बाहिरीएको हो। यही कारण साउनयता बैंकहरूमा निक्षेप घटिरहेको छ।